
काठमाडौं : इन्टरनेट सेवाप्रदायक कम्पनी वाई–फाई नेपालको सेवा पोखरमा पनि विस्तार भएको छ।
गत जेठमा नेपालकै सस्तो इन्टरनेट प्याकेजका साथ सञ्चालनमा आएको कम्पनीले आइतबारदेखि पोखरामा पनि सेवा विस्तार गरेको हो।
पोखरा आसपासका ग्राहकले ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज खरिद गर्नसक्ने वाई–फाई नेपालका प्रमुख कार्यकारी अधिकृत रितेशराज सिंह श्रेष्ठले जानकारी दिए।
उनका अनुसार मासिक ३३३ रूपैयाँमा ५० एमबीपीस र मासिक ५३३ रुपैयाँमा ८० एमबीपीएस इन्टरनेट प्याकेज खरिद गर्न सकिनेछ।
५० एमबीपीएसको नयाँ इन्टरनेट जडान गर्नका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ। तीन महिने प्याकेजका लागि कुल तीन हजार १०० रूपैयाँ तिर्नुपर्ने हुन्छ, जसमा तीन महिनाको शुल्क ११ सय रूपैयाँ, तारको शुल्क ५०० रूपैयाँ र राउटरको शुल्क १५ सय रुपैयाँ लाग्नेछ।
छ महिना र एक वर्षका लागि जडान गर्दा तारको शुल्क लाग्नेछैन। यसरी तीन महिनाका लागि वाई–फाई नेपालको ५० एमबीपीएस इन्टरनेट जडान गर्दा कुल तीन हजार १०० रूपैयाँ, छ महिनाका लागि तीन हजार ६०० रूपैयाँ र एक वर्षका लागि पाँच हजार ५०० रूपैयाँ लाग्नेछ।
अर्कोतर्फ ८० एमबीपीएस इन्टरनेट स्पिड जडान गर्न तीन महिने प्याकेजका लागि तीन हजार ६०० रूपैयाँ लाग्छ, जसमा एक हजार ६०० रूपैयाँ तीन महिनाको इन्टरनेट शुल्क, ५०० रूपैयाँ तार शुल्क र एक हजार ५०० रूपैयाँ राउटर शुल्क समावेश हुन्छ।
सुरुवातमा छ महिना वा एक वर्षको भुक्तानी गर्ने ग्राहकले तारको शुल्क तिर्नुपर्दैन। यसरी तीन महिनाका लागि ८० एमबीपीएस इन्टरनेट जडान गर्दा तीन हजार ६०० रूपैयाँ, छ महिनाका लागि चार हजार ७०० रूपैयाँ र एक वर्षका लागि सात हजार ५०० रूपैयाँ लाग्नेछ ।