
काठमाडौं : देशको तेस्रो ठूलो मोबाइल सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले आफ्नो लाइसेन्स नवीकरणका लागि निर्धारित समयसीमा भित्र आवेदन नदिएको पाइएको छ।
आउँदो चैत मसान्तमा लाइसेन्सको म्याद सकिने अवस्थामा रहेको कम्पनीले तीन महिना अगावै अर्थात् पुस मसान्तभित्र नियामक समक्ष नवीकरणको निवेदन दिनुपर्ने थियो।
स्मार्ट टेलिकमबाट शुक्रबारसम्म लाइसेन्स नवीकरणका लागि आवेदन प्राप्त नभएको नियामक नेपाल दूरसञ्चार प्राधिकरणका एक अधिकारीले जानकारी दिए।
लाइसेन्स जोगाउन स्मार्टले फागुन मसान्तअघि नवीकरण दस्तुर र बक्यौता भुक्तानी गरी प्राधिकरण समक्ष नवीकरणका लागि निवेदन दिनुपर्ने थियो।
तर कम्पनीबाट नवीकरण गराउने भन्दै जानकारी मात्रै दिएको छ। यद्यपि कम्पनीसँग अब अन्तिम मौका भने बाँकी छ।
‘यद्यपि स्मार्ट टेलिकमले अझै पनि जरिवानासहित आफ्नो लाइसेन्स नवीकरणका लागि निवेदन दिनसक्छ,’ ती अधिकारीले भने, ‘तर त्यसका लागि नवीकरणको २० अर्ब रूपैयाँ र त्यसको १५ प्रतिशत अर्थात तीन अर्ब रूपैयाँ जरिवाना बुझाउनुपर्ने हुन्छ।’