
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका तीन खेलाडी सुरक्षित भविष्यको खोजीमा विदेशिएका छन् ।
राष्ट्रिय टोलीका सुरुआती-११ कै तीन खेलाडी तेज तामाङ, दिनेश राजवंशी र गौतम श्रेष्ठ अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
तीनै जना खेलाडी सोमबार राति अष्ट्रेलिया प्रस्थान गरेका हुन् ।
पछिल्लो समय अखिल नेपाल फुटबल संघ (एन्फा) र ‘ए’ डिभिजन क्लबबीचको विवादका कारण शीर्ष डिभिजनको लिग समयमा नहुँदा खेलाडी विदेशिनु थालेका हुन् ।
नयाँ सिजनको ‘ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । लिग डबल राउण्ड रोबिनको आधारमा हुनेछ ।
लिगका लागि डिफेन्डर दिनेश राजवंशी र मिडफिल्डर तेज तामाङ चर्च ब्वाइज क्लबमा अनुबन्धित भएका थिए ।
यस्तै डिफेन्डर गौतम श्रेष्ठ संकटा क्लबमा अनुबन्धित भएका थिए ।
यस अघि एक दर्जन बढी फुटबल खेलाडी अष्ट्रेलिया पुगिसकेका छन् ।
यस अघि राष्ट्रिय टोलीका सदस्य दर्शन गुरुङ, सन्तोष तामाङ, सुमन लामा र आशिष लामासहित शिव गुरुङ,आकाश बुढा मगर, रुमेश बर्तौला र अमिर श्रेष्ठ लगायतका खेलाडी अष्ट्रेलिया अष्ट्रेलिया गईसकेका छन्।