दुर्घटनापछि पहिलोपटक फ्यानसँग जोडिए ऋषभ पन्त

काठमाडौं : भारतीय क्रिकेटर ऋषभ पन्तले आफ्नो शल्यक्रिया सफल भएको बताएका छन्।

पन्त गत महिना कार दुर्घटनामा घाइते भएका थिए। देहरादुनमा प्रारम्भिक उपचारपछि उनको अहिले मुम्बईमा उपचार भइरहेको छ।

दुर्घटनापछि आफ्नो पहिलो ट्वीटर अपडेटमा उनले लेखेका छन्, ‘तपाईंको सबै सहयोग र प्रार्थनाको लागि म कृतज्ञ छु। मेरो शल्यक्रिया सफल भएको जानकारी दिन पाउँदा खुसी छु। अब बिस्तारै निको भइरहेको छ। म चुनौतीहरूको सामना गर्न तयार छु। बीसीसीआई, जय शाह र सरकारी अधिकारीहरूलाई धेरै धेरै धन्यवाद।’

उनले अगाडि लेखेका छन्, ‘म मेरा सबै प्रशंसकहरू, टोलीका सदस्यहरू, डाक्टरहरू, फिजियोहरूलाई उनीहरूको प्रोत्साहन र प्रार्थनाको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। म आफूलाई मैदानमा हेर्न उत्सुक छु।’

डिसेम्बर ३० मा ऋषभ पन्तको कार दिल्ली–देहरादुन राजमार्गमा डिभाइडरमा ठोक्किएपछि आगो लागेको थियो।

पन्तको पहिले देहरादुनमा उपचार गरिएको थियो, त्यसपछि केही दिनपछि उनलाई मुम्बईको एक निजी अस्पतालमा भर्ना गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार