Logo

ठूला दलहरूको महाधिवेशनमा भिड प्रदर्शनको होड



कखरा संवाददाता


काठमाडौं । प्रमख दलहरूको महाधिवेशनको तीव्र तयारीमा छन् । ठूला तीन दल नेकपा (एमाले), नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) पार्टीको महाधिवेशन केन्द्रीत गतिविधिमा व्यस्त छन् ।

नीति र नेतृत्व चयन गर्ने महाधिवेशनलाई दलहरूले भिड प्रदर्शन गरेर एकअर्कालाई प्रभाव देखाउने माध्यम बनाउन थालेका छन् । मुलुकको सबैभन्दा ठूलो दल नेकपा (एमाले)को १० औं महाधिवेशन मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ । महाधिवेशनको उद्घाटनमा ५ लाख बढी कार्यकर्ता सहभागी गराउने एमालेको तयारी छ ।

अहिले राष्ट्रिय राजनीतिमा खासै प्रभाव नरहे पनि परम्परागत शक्तिको रूपमा आफूलाई दावी गरिरहेको राप्रपाको महाधिवेशन पनि मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंमा हुँदैछ ।

लगत्तै शासनसत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको महाधिवेशन मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमै हुँदैछ । तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र पनि पार्टीको महाधिवेशनअन्तर्गत वडा अधिवेशनमा व्यस्त छ ।

एमालेजस्तै महाधिवेशन केन्द्रीत रहेका अन्य दलले पनि महाधिवेशनमा भिड प्रदर्शन गर्ने तयारी गरेका छन् । आमनिर्वाचनमा र्‍याली आमसभा र घरदैलोमार्फत भिड प्रदर्शन गरेर मतदातालाई मनोवैज्ञानिक प्रभावमा पार्ने प्रयत्न गर्नु स्वभाविक भए पनि पार्टी महाधिवेशनमा भिड प्रदर्शनको कुनै अर्थ नरहेको राजनीतिक विश्लेषक मिनेश घिमिरे बताउनुहुन्छ ।

कुनै दलका लागि पार्टीको महाधिवेशन नियमित प्रक्रिया हो । विचार र नेतृत्वका लागि महाधिवेशन गरिन्छ । सहि विचार र नेतृत्व दिनसके मात्र महाधिवेशनको अर्थ रहन्छ । भिड प्रदर्शनले न त पार्टीको जीवनमा परिर्वतन ल्याउँछ न त आमनागरिकका समस्या समाधान हुन्छन् ।

शक्ति प्रदर्शनले जनतालाई आकर्षित गर्न सकिन्छ भन्ने दलहरूमा अझै पनि भ्रम छ । दलहरूलाई जनताले पटक–पटक परीक्षण गरिसकेकाले महाधिवेशनमा देखिने तडक-भडकले आमनागरिकलाई कुनै प्रभाव पर्दैन । अर्कोतिर महाधिवेशनमा गरिने भिड प्रदर्शन दलहरूको शक्ति निर्धारण गर्ने मापदण्ड पनि नभएको विश्लेषक घिमिरेको भनाइ छ ।

शक्ति प्रदर्शन गर्नुभन्दा दलहरूले महाधिवेशनबाट सहि विचार र नेतृत्व दिएर मुलुकका यावत समस्या समाधानतिर ध्यान दिन सकेमात्र आमनागरिकलाई प्रभाव पार्नेतर्फ दलहरू केन्द्रीत हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्