Logo

देउवालाई टक्कर दिँदै निधि, प्यानल बनाएरै मैदानमा



कखरा संवाददाता


काठमाडाैं । पार्टीको १४औं महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस उपसभापति विमलेन्द्र निधि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको साथ पूरै छोडेर पार्टी सभापतिका लागि अघि बढ्नुभएको छ ।

देउवाका निकै विश्वासपात्र मानिनुभएका निधिले गत भदौ ११ गते काठमाडौंको बानेश्वरस्थित बानेश्वर बैक्वेटमा सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिमा उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो । मंसिर ६ गते सोमबार निधिले आफू सभापतिमा उम्मेदवार बन्नुका २३ कारण खुलाउँदै देउवाको क्याम्प छोडेको स्पष्ट संकेत गर्नुभएको छ ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौंमा हुने महाधिवेशनमा सभापति देउवाले सभापतिमा दोहोरिने आकांक्षा राखेका बेला निधिले पनि २३ कारण खुलाउँदै सभापतिमा दाबी गरेपछि कांग्रेसमा तरङ्ग पैदा भएको छ ।

प्यानल बनाएर निधि मैदानमा
आफू सभापतिमा उम्मेदवार बन्नुका कारण खुलाएका निधि अहिले प्यानल निर्माणको गृहकार्यमा लाग्नुभएकाे निधि निकट एक नेताले जानकारी दिनुभयाे । उहाँक अनुसार निधिले केहिदिन भित्र आफ्नो घोषणा पत्र पनि सार्वजनिक गर्ने तयारी गर्नुभएको छ ।

को हुन् निधि ?
नेविसंघका संस्थापक अध्यक्ष एवं कांग्रेस नेता बिपिन कोइरालाका अनुसार निधि कांग्रेस राजनीतिमा दुःख पाउँदै अघि बढेका नेता हुनुहुन्छ । निधिको जन्म २०१३ असोज १० मा धनुषाको जनकपुरमा भएको हो । निधि कांग्रेस संस्थापक नेता महेन्द्र नारायण निधिका सुपुत्र हुनुहुन्छ ।

२०२७ मा नेविसंघको सदस्य भएर विद्यार्थी राजनीतिमा लाग्नुभएका निधि २०२९ मा रारा बहुमुखी क्याम्पसको स्ववियू सचिवमा निर्वाचित हुनुभएकाे थियाे । २०३६ मा २३ वर्षकै उमेरमा नेविसंघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

२०४६ मा नेपालमा प्रजातन्त्र पुनःप्राप्तिपछि निधि नेपाली कांग्रेसको पार्टी राजनीतिमा होमिनुभएको हो । त्यसपछि २०५१ र २०५६ मा धनुषा क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित हुनुभएकाे थियाे । २०६४ र २०७० को संविधानसभा निर्वाचनमा भने धनुषा ३ बाट निर्वाचित हुनुभएको थियो । २०७४ को निर्वाचनमा भने निधि पराजित हुनुभयाे ।

विद्यार्थी र पार्टीको राजनीतिमा लाग्दा निधि पटक–पटक जेलसमेत पर्नुभएको छ । कांग्रेस राजनीतिमा लागेर निधिले पटक–पटक मन्त्री बन्ने अवसर पाउनुभएकाे छ । उहाँ पछिल्लो पटक २०७३ मा उपप्रधानमन्त्री एवं गृहमन्त्री बन्नुभएको थियो ।

निधि–देउवा सम्बन्ध
देउवा र निधि दुवैजना नेपाल विद्यार्थी संघको (नेविसंघ) राजनीतिबाट उदाएका नेता हुन् । देउवा नेविसंघको स्थापनापछि २०२८ सालमा त्यसको पहिलो निर्वाचित सभापति बन्नु भएको थियो भने निधि २०३६ मा नेविसंघमा देउवापछि दोस्रो निर्वाचित सभापति बन्नुभएको थियो ।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएपछि शुरुमा देउवा र निधि फरक-फरक गुटमा लाग्नुभएको थियो । देउवाले कांग्रेसमा कोइराला समूहको फेर समात्दा निधि भने सन्त नेता कृष्णप्रसाद भट्टराईको समूहमा लाग्नुभयो । तर, समय र परिस्थितिले पछि दुवै नेता एउटै समूहमा सहभागी हुन पुगे ।

२०५७ मा कांग्रेसको पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइरालाविरुद्ध सभापतिमा उम्मेदवारी दिन रामचन्द्र पौडेलले नमानेपछि भट्टराई पक्षले देउवालाई सभापतिमा उठाउने निर्णय गर्‍यो । त्यसमा देउवा र निधि एउटै समूहमा थिए ।

कांग्रेसमा आन्तरिक कलह चर्केपछि २०५९ मा देउवाले कांग्रेस विभाजन गरेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) बनाउँदा पनि निधिले देउवाकाे साथ छाेड्नुभएन । देउवालाई नेतृत्वमा पुर्‍याउन निधिको सधै महत्वपूर्ण सहयोग रह्यो ।

२०७२ फागुनमा भएको कांग्रेसको १३औं महाधिवेशनमा निधिले दरिलो साथ दिएकै कारण देउवा सभापतिमा निर्वाचित हुनुभएको कांग्रेस नेताहरू बताउँछन् ।

देउवाले पनि निधिलाई उप-सभापति बनाउनुभयो भने त्यतिबेला देउवाले निधिसँग १४औं महाधिवेशनमा आफू उम्मेदवार नबन्ने र निधिलाई साथ दिने प्रतिवद्धता जनाएको एक कांग्रेस नेताले बताए । तर, देउवाले भने त्यसको विपरीत निधिलाई धोका दिएको ती नेताको दाबी छ ।

निधि-देउवा सम्बन्धमा दरार
२०७३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री बनेका बेला निधिलाई उपप्रधान एवं गृहमन्त्री बनाइएको थियो ।देउवाले अघि सारेकाे व्यक्तिलाई निधिले नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन चासाे नदिएपछि विस्तारै दुवैजनाको सम्बन्धमा दरार शुरु भएको हो ।

त्यसैगरी, २०७४ प्रतिनिधिसभा को निर्वाचनमा धनुषा ३ बाट चुनाव लड्दा सभापति देउवा र पत्नी आरजु देउवाले आफूलाई सहयोग नगरेकाेमा निधि असन्तुष्ट भएकाे उहाँनिकट एक नेताले बताए । निधिले तत्कालीन राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोसँग पराजय व्यहोर्नुपरेको थियो ।

देउवाले निधिलाई दिएको वचन पालना नहुनु दुवैबीचको सम्बन्धमा आएको दरारको अर्काे कारण हाे । १४औं महाधिवेशनमा आफू उम्मेदवार नबनी निधिलाई सघाउने भनेर दिएकाे वचन विपरीत देउवाले पार्टी सभापितमा दोहोरिने आकांक्षा देखाएपछि उनीहरूबीचकाे सम्बन्धमा चिसाेपना आएकाे हाे ।

निधि देउवाले सघाउनेमा ढुक्क भएर बस्दा देउवा स्वयंले फेरि सभापति बन्ने चाहना राखेपछि त्यसले दुवैबीचको दूरीलाई फराकिलो बनाएकाे कांग्रेस नेताहरूको भनाइ छ । देउवाले निधिलाई सधैँ प्रयोगमात्रै गर्न खोजेको निधि निकट नेताहरूको दाबी छ ।

नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वमन्त्री ओमकार प्रसाद श्रेष्ठ निधिको सभापतिमा उम्मेदवारीले देउवालाई असर पर्ने बताउनुहुन्छ । ‘देउवा र निधि लामो समय सँगै हिडेका नेता हुन्, निधिले देउवाको भोट धेरै काट्ने संभावना छ,’ श्रेष्ठले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्