Logo

‘सत्यम्’ बाट बाहिरिइन् मलिका, भित्रिइन् उपासना



कखरा संवाददाता


काठमाडौं । अभिनेत्री मलिका महतले फिल्म ‘सत्यम्’ मा काम नगर्ने भएकी छन् । पढाईका कारण फिल्मलाई समय दिन नसक्ने भएपछि उनी फिल्मबाट बाहिरिएकी हुन् ।

उनको स्थानमा निर्माण टिमले अभिनेत्री उपासना सिंह ठकुरीलाई अनुबन्ध गरेको छ । उनी अभिनेता पल शाहको जोडीको रुपमा देखिनेछिन् । उनीहरुलाई पहिलो पटक ठूलो पर्दामा एकसाथ हेर्न दर्शकलाई रोचक हुने देखिन्छ ।

पढाई र सुटिङको समय तालिका नमिल्ने भएपछि नायिका महतले फिल्ममा काम गर्न नसकेको निर्माता रेशम सापकोटाले बताए ।

‘मलिकाले बिबिए अध्ययन गर्दै हुनुहुन्छ । फिल्मको कार्यशाला गर्ने समयसम्म पढाई अनलाइनमा हुने भन्ने थियो तर सोचेभन्दा अगाडि नै कलेजको फिजिकल क्लास हुने भएपछि उहाँले समय दिन सक्नुभएन । अन्य कारण केहि छैन’, सापकोटाले प्रष्ट पारे ।

‘सत्यम’ का लागि मलिकाभन्दा अगाडि उपासनालाई नै अफर गरिएको थियो । तर, अर्को फिल्मको छायांकन मिति जुधेपछि उनले समय दिन सकेकी थिइनन् ।

निर्देशक शंकर कार्कीले भने, ‘पहिले उपासनाले चाहेर पनि समय दिन सक्नुभएको थिएन तर अहिले उहाँको समय मिलेको छ । उहाँसँग कागजी सम्झौता भइसकेको छ । अब मलिकाले अभिनय गर्ने भूमिका उपासनाले गर्नुहुन्छ’ ।

यो फिल्ममा अभिनेता राजेश हमालले मुख्य भूमिकामा अभिनय गर्दैछन् । उनको जोडी निलिमा चन्दसँग बाँधिएको छ । अभिनेत्री निरुता सिंहसँग पनि फिल्ममा अभिनयको लागि कुराकानी भइरहेको निर्माता सापकोटाले बताए ।

फिल्ममा अनुप विक्रम शाही, कृष्ण जोशी र अभय बरालको पनि मुख्य भूमिका रहनेछ । पर्दामा दर्शकले हमाल र अनुपको घमासान भिडन्त हेर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्