Logo

श्वेताले बाँडिन् हेलम्बुका २ सय परिवारलाई राहत



कखरा संवाददाता


काठमाडौं । बाढी घरभित्रै पसेर सबथोक बगाएपछि राहतको आशमा बसेका सिन्धुपाल्चोकका बासिन्दालाई यतिबेला आर्थिक एवं भौतिक सहयोगको ओइरो लागेको छ । कलाकारहरु पनि उनीहरुको सहयोगमा जुटिरहेका छन् । आँचल शर्मा, आकाश श्रेष्ठ, पूजा शर्मा, स्वस्तिमा खड्का, दीपाश्री निरौला, श्वेता खड्का लगायतले सिन्धुपाल्चोकका बाढी पीडितलाई राहत हस्तान्तरण गरिसकेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा सिन्धुपाल्चोकबासीलाई सहयोग गर्न अभियान नै चलाएकी श्वेताले गएको शुक्रवार गाडी जाने ठाउँमा टिप्परको सहयोगले र बाढीले बाटो अवरुद्ध भएको ठाउँमा हेलिकप्टरमार्फत् बाढी पीडितलाई आवश्यक पर्ने खाद्यान्न तथा लत्ताकपडा पुर्‍याएकी थिइन् । उनले सहयोगको अपिल गरेपछि देश तथा विदेशबाट ठूलो मात्रामा आर्थिक संकलन भएको छ ।

श्वेताले फेसबुक अभियानबाट जुटेको आर्थिक सहयोगले दोस्रो चरणको राहत सिन्धुपाल्चोकको हेलम्बुका बाढी पीडितलाई वितरण गरेकी छिन् । बाढी र पहिरोले हेलम्बुसँग जोडिने सडक सञ्जाल टुटेपछि त्यस क्षेत्रका बाढी पीडितले सहयोग पाउन सकेका थिएनन् । यातायातको केही सहजतापछि श्वेताले टिप्परमार्फत् बिहीवार हेलम्बु गाउँपालिकामा राहत सामाग्री पुर्‍याएकी हुन् ।

उनले ५० जना सुत्केरी महिलालाई विशेष राहत प्याकेज, २ सय परिवारलाई खाना पकाउने ग्यास, चुल्हो, सिलिन्डर र खाद्यान्न सहयोग गरेको बताएकी छन् । उनले फेसबुकमा राहत वितरणका तस्विर तथा भिडियो शेयर गर्दै हेलम्बुका बाढी पीडितको कुरा सुन्दा आफ्नो आँशु नथामिएको उल्लेख गरेकी छन् । राहत वितरणमा उनलाई श्रीमान विजयन्द्र सिंह रावतले साथ दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्