Logo

डेढ अर्ब फाइदामा नेपाल वायुसेवा निगम



कखरा संवाददाता


काठमाडौं । अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटेसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई डेढ अर्ब फाइदा हुने भएको छ । निगमले गरेको हवाई इन्धन मूल्य २० प्रतिशत घटाउने र कोरोना महामारी अवधिभर १५ प्रतिशतभन्दा बढी नाफा नलिने निर्णयले डेढ अर्ब रुपैयाँ फाइदा हुने भएको हो ।

निगमको निणर्यले काठमाडौंबाट विभिन्न देशमा उडान भर्दै आएकामध्ये सबैभन्दा ठूलो लाभ निगमलाई नै हुनेछ । उसले नियमित उडान सुचारु भएको अवस्थामा वार्षिक ४ अर्ब ५० करोड इन्धन खरिद गर्दै आएको थियो ।

हाल, अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने इन्धनमा निगमले प्रतिकिलोलिटर १ सय ७८ अमेरिकी डलरले घटाएपछि त्यसबाट स्वदेशी वायुसेवालाई सबैभन्दा बढी लाभ हुने भएको हो ।

विदेशी कम्पनीका वायुसेवाले नेपालमा अत्यावश्यक अवस्थामा मात्र इन्धन भर्ने र उनीहरूले धेरैजसो इन्धन नेपालभन्दा बाहिरै सस्तो हुने भएकाले उतैबाट भरेर आउने गरेका छन् ।

निगमले गत सोमबारदेखि नै लागू हुनेगरी हवाई इन्धनको मूल्य घटाएको छ । यसअघि, नेपाल वायुसेवा निगमलगायत कम्पनीले नेपालमा भरिने अन्तर्राष्ट्रिय इन्धन मूल्य अत्यधिक महँगो भएकाले प्रतिस्पर्धी बन्न नसकेको गुनासो गर्दै आएका थिए ।

गुनासा सम्बन्धमा यसअघि प्रधानमन्त्री, अर्थमन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग निगमले छलफल गर्दै आएको थियो । उनीहरूको मागअनुरूप सरकारले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाइदिएको हो ।

प्रतिक्रिया दिनुहोस्