Logo

मुखौटा: अर्चना बरालद्वारा रचित कथा



कखरा संवाददाता


‘नारीहरु देवीका रुप हुन। परापुर्वकालदेखि चुलोचौकोमा सिमित रहेर पुरुषलाई साथ सहयोग गर्द‌ै आए। अनेक अपमान सहँदै आए। अब चुलोचौकोबाट निस्किनुपर्छ।चुलोचौको आवश्यक कुरा हो तर कसैको बाध्यता नबनोस्। नारीहरुले स्वतन्त्रतापुर्वक बाँच्न पाउनुपर्छ। नारी पुरुष बराबरी। कसैले हिंसा गर्यो भने खुलेर प्रतिकार गर्नुहोस्। सार्वजनिक रुपमा कारबाही गर्नुहोस्। गल्ती गर्ने पो लजाउनु पर्छ त।… ‘ पुरुषको आवाजमा सुनिदै गरेका शब्दहरु सुनेर म अत्यन्त खुसि भएँ। ओहो! पुरुष पनि यति उदार! म आश्चार्यचकित भएँ। कोही त हुँदा रहेछन्।

मलाई ती सज्जनसँग चिनजान गर्न मन लाग्यो। मञ्चमा उनी बोलिरहेका थिए। म पछाडी उभिएँ। कार्यक्रममा अधिकांश युवतीहरुको उपस्थिति थियो। उनका हरेक वाक्यहरुमा ताली बर्षिरहेको थियो। म पनि कतिबेला कार्यक्रम सकिन्छ र चिनजान गरौँ भनेर पर्खिरहेकी थिएँ।

-नारीबादी पुरुष रे! कति जानेको कति ज्ञानी हाम्रा बुढाहरु त काम गरेन भने खेदाउँछन्।

-मैले पनि पढ्न त पढेकी नि जागिर खान खोज्दा झण्डै डिभोर्स भएको…

-आज बसमा कस्तो फटाहा मानिस परेछ टाँस्सिन खोज्यो म त हतार हतार अगाडि गएँ। त्यहिँ कुट्नुपर्ने थियो थुइक्क।

-दुइचारजना यस्ता मानिस भैदिए हाम्रो देश धेरै अघि बढ्थ्यो। मेरा छेउछाउमा यी आवाज सुनिईरहेका थिए।

महिलाहरुका हकहितमा कानुन छ। सशक्तीकरणका नाराहरु गुञ्जिएका छन्। अधिकारका लागि आवाजहरु उठाउनुहोस् ,तपाईहरु जागृत हुनुहोस्। त्यो अर्कै पाटो भयो। तर हिंसाको पाटो दर्दनाक छ। अलिक समय भयो होला किशोरीहरु पनि यस्ता हिंसाबारेमा खुलेर बोल्न थालेका। प्रतिकार गर्न थालेका। हो अब सशक्त प्रतिकार गर्नैपर्छ। उनले यति भनिरहँदा मेरा आँखाबाट आँशुनै झर्न पुगेछन्।

कार्यक्रम सकियो। म ती सज्जनलाई भेट्न मञ्चतिरै गएँ। बिनीता पनि त्यहिँ देखिई। उसले नै मेरी साथी भनेर उनिसमक्ष चिनाई। बिनिता मेरी सहपाठी। हामी स्कुल कलेज सँगै पढेका हौँ।सानैदेखि तार्किक लहडी स्वभावकी उसलाई तर्कमा जित्न हम्मेहम्मे पर्थ्यो। क्रान्तिकारी बिचार बोकेकी उ हरेक घटनाहरुलाई सिर्जनशील बनाउने गर्थी। केही समय हामी धेरै नजिकियौँ। पछि पछि सम्पर्क पातलिएको थियो।

एक्कासी उसलाई त्यति सज्जन मानिससँग भेट्दा एकदम खुसि लाग्यो अझ चिनजान गराएकीले गर्दा मेरो खुसिको सीमा नै थिएन। उसलाई धन्यवाद पनि दिएँ। ती सज्जनले कफि खान जाने प्रस्ताव राखे। केही हुल युवतीहरु मतर्फ हेर्दै ईर्ष्याको भाव प्रकट गर्दै थिए। उनले जाँदाजाँदै यति भन्न भ्याए,’तपाईहरु कसैको दास होइन। स्वतन्त्रतापुर्वक बाँच्नुहोस्, आफुखुसि गर्नुहोस्।’ हामी कफि खाएर बिदा भयौँ। घर आईपुगेर फेसबुक खोलेँ। उनको फ्रेण्ड रिक्वेस्ट आएको रहेछ। म अत्यन्त खुसि भएँ। त्यो दिन रातिसम्म विभिन्न कुराकानी भए।नारीहरु किन हेपिए भनेर पितृसत्तात्मक दम्भको जालोको बेलिबिस्तार लगाए। मैले पनि आफुले भोगेका घटनाहरु सुनाएँ। उनी अत्यन्त भावुक भए।

हाम्रो कुराकानी बाक्लिँदै गयो। गफ गर्न थालेपछि समय बितेको पत्तै हुँदैनथ्यो। एकदिन एक्कासी उनले आफु मसँग प्रेममा परेको कुरा सुनाए, मसँग बिवाह गर्ने प्रस्ताव राखे।हामी एकदम नजिकिएका हौँ धेरै कुराहरु सेयर गरेका हौँ। बिवाहको प्रस्तावले चाहिँ मलाई रन्थन्यायो कताकता खुसि कताकता बेचैन पनि बनायो। उनलाई सोचेर निर्णय दिने बाचा गरेँ।

म बिवाहको बन्धनमा परेर आफ्नो करियर बिगार्न चाहन्नथेँ। तर पनि उनको ब्यक्तित्वले आकर्षित गरेको थियो। यति बुझ्ने समझदार मान्छेसँग बिवाह गरेपछि कसरी करियर बिग्रिएला त?

‘हामीबिच प्रेम छ श्रद्धा छ आपसी सद्भाव छ तर एकअर्काको कमजोरी बनेर सपना नबिगारौँ। यदि हामीबिच कुनै कुरामा घृणा उत्पन्न भयो भने दुब‌ैलाई खरानी बनाउँछ हाम्रो सपना पनि बिलाउन सक्छ।’ मैले उनलाई सम्झाउने प्रयास पनि गरेँ।

‘प्रेमले कसरी खरानी बनाउँछ? जब घृणा बिचमा आउँछ त्यो कसरी प्रेम भयो? प्रेमले कसैलाई बिगार्दैन बिवाह गर्नु सृष्टिको नियम हो। अझ नारीहरुले आफ्ना सपना पूरा गरून् अगाडि बढुन् भनेर नै म जागरुक गराईरहेको छु।तपाईँमा पनि नेतृत्व गर्ने क्षमता छ म धेरै प्रभावित छु कसरी सपना बिगारौँला त…’ उनले भने।

-विवाहपछि हाम्रो लक्ष्य साझा सहयोगमा पूरा हुनेछ भनेर वचन दिनुपर्यो..

-ए बाबा अझ तिमीलाई बिश्वास छैन? कता दस्तखत गर्नुपर्ने भयो?

– बिवाहपछि माहौल नै अर्कै हुन्छ भन्छन्

– ल भयो.. अब कर गर्दिन नबोल्नु अबदेखि बाई

– नाईँ….

यसरी हाम्रो दैनिक कुराकानी हुन्थ्यो। एकदिन उनले तपाईं अझै पनि सङ्कुचित समाजकै अनुयायी हुनुहुन्छ। प्रेम सम्बन्धसँग किन यति डराउनुहुन्छ? संसार कहाँदेखि कहाँ पुगिसक्यो। समाजले के भन्छ भनेर हरेक दिन आफुलाई किन पछाडी पार्नुहुन्छ? हरेक कुरामा आफुले चाहेजस्तो जीवन जिउने हो नि।

प्रेम पनि यस्तो हुन्छ? के चाहन्छन्,कस्तो परिस्थितिमा छन् भनेर बुझ्ने कि आफ्नो कुरामात्र राख्ने भन्ने कुराहरु मेरा मनमा धेरै उठेका थिए। त्यतिबेला यी कुरा अर्थहिन लागेपनि उनका आदर्श कुराहरुले फेरि टाढिन चाहिँ दिएन।

हामीबिच कुराकानी बाक्लिँदै गएको थियो। हरेक घटनाहरुलाई बहस बनाएर तर्क बितर्क गरिरहन्थ्यौँ।बिस्तारै उनले मन जित्दै गए।

एकदिन बिनिताले मलाई उसको घरमा भेट्न बोलाई।मलाई पनि भेट्न मन लागिरहेको थियो।पछिल्लो समय त्यतिधेरै कुराकानी भएको थिएन। जब म उसको घरमा पुगेँ सामान्य भलाकुसारी पछि हामी भबिष्यका योजनाहरु पनि सुनाउन थाल्यौँ। मैले आफु चाँढै बिवाह बन्धनमा बाँधिने कुरा पनि सुनाएँ। अनि उसलाई सोधेँ ,’तिम्रो के छ प्लान?’

उसले आफुलाई प्रेमीले गालीगलौज गरेको, सुरुमा सम्बन्ध धेरै राम्रो रहेको, पछिपछि केटाले वेवास्ता गर्ने गरेको, रातभरि अरुसँग कुरा गर्ने गरेको, अनावश्यक शंका गर्ने रिसाउने झर्किने गरेको, बाहिर काम पनि गर्न नदिएको, नोकर जस्तो ब्यवहार गरेको गुनासो गर्दै अब छिट्टै छुट्टिने कुरा सुनाई र भनी, ‘तँ केटाहरुलाई चाँडै बिश्वास नगर है!’

कलेजका दिनहरु सम्झिएँ सार्है नरमाईलो लाग्यो त्यस्तो जोश जाँगर परिवर्ननको सोच बोक्ने बिनीताको यो हाल?उसका आँखाहरु हेर्दा कैयौँ रातदेखिका अनिँदा देखिन्थे। एक्कासी मेरा आँखा भित्तामा टाँगिएको बिनिता र बिनयको फोटोमा पुगे। मैले अचम्मित हुँदै सोधेँ, ‘उहाँसँग पारिवारिक सम्बन्ध पनि छ?’ ‘हो हामी बिगत तीन बर्षदेखि लिभिङ टुगेदरमा छौँ….।’

प्रतिक्रिया दिनुहोस्