Logo

कोरोना महामारीका कारण वैदेशिक रोजगारीमा परेको असरबारे सरकारले अध्ययन गर्ने



कखरा संवाददाता


काठमाडौं । सरकारले कोरोना भाइरसको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा पर्ने असरबारे अध्ययन थालेको छ । कोरोनाको पहिलो लहरले पनि वैदेशिक रोजगारी प्रभावित भएको थियो ।

अहिले कोरोनाको दोस्रो लहर सुरू भएसँगै यसले पनि वैदेशिक रोजगारी प्रभावित हुने भएपछि सरकारले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो । वैदेशिक रोजगार विभागले यस सम्बन्धमा अध्ययन अगाडि बढाएको हो ।

विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीले कोरोनाको दोस्रो लहरका कारण वैदेशिक रोजगारीमा परेको असरबारे अध्ययन अगाडि बढाएको जानकारी दिनुभयो । परराष्ट्र मन्त्रालय र म्यानपावर व्यवसायीहरूको सहकार्यमा अध्ययन अगाडि बढाइएको उहाँले बताउनुभयो ।

विभागले परराष्ट्र मन्त्रालयलाई श्रम गन्तव्य मुलुकका दूतावासबाट वैदेशिक रोजगारीमा परेको असरबारे विवरण संकलन गरिदिन अनुरोध गरेको छ । अध्ययनपछि वैदेशिक रोजगारीसम्बन्धी आवश्यक नीतिगत व्यवस्था तथा सुधार गर्न सकिने विभागले जनाएको छ ।

यस्तै राहत आवश्यक परेमा पनि सम्बद्ध मन्त्रालय तथा निकायहरूलाई सिफारिश गरिने महानिर्देशक दवाडीले बताउनुभयो । कोरोनोको दोस्रो लहर सुरू भएसँगै वैदेशिक रोजगारीमा जानेको संख्या घट्न थालेको छ । श्रम गन्तव्य मुुलुकहरूबाट कामदारको माग पनि घट्दै गएको विभागको भनाइ छ ।

तर, यसको कारण कोरोनाको दोस्रो लहर नै हो कि अन्य कुनै कारण हो भनेर भन्न सक्ने अवस्था नरहेकाले अध्ययन गर्न लागेको विभागले जनाएको छ । कोरोनाका कारण व्यवसाय नै प्रभावित भएपछि श्रम गन्तव्य मुलुका रोगगारदाता कम्पनीहरूले कामदार कटौती गर्दा नेपाली कामदार नेपाल फर्कन बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्