Logo

अनुराग कश्यपलाई पूर्व पत्नीहरुको साथ



कखरा संवाददाता


६ असोज, काठमाडौं । अभिनेत्री पायल घोषले लगाएको यौन उत्पीडनको आरोपमा अनुराग कश्यपका दुवै पूर्व श्रीमतीले उनको साथ दिएका छन् ।

अनुरागकी पहिलो श्रीमती आरती बजजले इन्स्टाग्रममा पोस्ट गरेकी छन्, ‘अनुराग कश्यप तपाईं रकस्टार हो । महिलाहरुलाई सशक्त गराउनु हुन्छ र गरिरहनु भएको पनि छ, महिलाका लागि सुरक्षित स्थान तयार पार्नुहुन्छ त्यो क्रम जारी राख्नु होला । मैले यो कुरा सबैभन्दा पहिले हाम्री छोरीको साथमा हेरेकी छु । दुनियामा इमानदारी निमेष मात्र पनि बाँकी रहेन र काम नलाग्दा मानिसहरुबाट भरियो ।’

उनले अघि लेखेकी छन्, ‘हरेकले आफ्नो शक्ति अरुलाई घृणा गर्न खर्चिरहेको छ, त्यो शक्ति रचनात्मकताका लागि लगाएको भए यो दुनिया राम्रो स्थान हुने थियो ।’ उनले थप लेखेकी छन्, ‘अहिलेसम्मकै सबैभन्दा घटिया स्टण्ट, सबैभन्दा पहिले त मलाई रिस उढ्यो र फेरि हाँसो लाग्यो । म दुःखी छु कि तपाईँलाई यस्तो अवस्थाबाट गुज्रिनु परेको छ । तपाईँ जहिले पनि उचाईमा रहनु र आफ्नो आवाज उठाइरहनु होला । हामी तपाईँलाई माया गर्छौँ ।’

अनुरागकी दोस्रो श्रीमती कल्की केकलाँले पनि इन्स्टाग्राममा पोस्ट गरेर उनको साथमा उभिएकी छन् । उनले लेखेकी छन्, ‘प्रिय अनुराग, सामाजिक सञ्जालमा भइरहेको यो रमिता आफूमा हाबी हुन नदिनु । तिमीले आफ्नो स्क्रिप्टमा महिलाको स्वतन्त्रताका लागि लडेका छौ । व्यवसायिक तथा व्यक्तिगत जीवनमा तिमीले महिलाको गरिमाको सुरक्षा गरेका छौ । म यी सबैको साक्षी हुँ कि निजी र व्यवसायिक क्षेत्रमा तिमीले मलाई आफ्नो बराबरको दर्जा दिएका थियौ ।’

उनले लेखेकी छन्, ‘सम्बन्ध विच्छेदपछि पनि तिमी मेरो सम्मानका लागि उभियौ । हामी साथमा नभएका बेला पनि कार्यस्थलमा मैले असुरक्षित महसुस गरेमा तिमीले मलाई साथ दिन्थ्यौ ।’

कल्की केकलाँले अघि लेखेकी छन्, ‘अहिले अति खतरनाक समय चलिरहेको छ, कुनै पनि परिणामका बारेमा नसोची जो कोही माथि आरोप लगाइन्छ । यसले परिवार, साथी र देशलाई नै नष्ट गरिरहेको छ । तर यो भर्चुअल ब्लड बाथ भन्दा पर एउटा गरिमामय स्थान छ । जहाँ तिम्रो आसपासका व्यक्तिमाथि ध्यान दिन आश्वयक छ, जब कोही देखिँदैन । मलाई थाहा छ कि तिमीलाई त्यसबारे राम्रोसँग थाहा छ । आफ्नो गरिमा नछोड्नु, बलियोसँग टिकी रहनु र जे काम गरिरहेका छौ त्यो गरिरहनु । पूर्व पत्नीको तर्फबाट प्रेम ।’

गएको शनिबार अभिनेत्री पायल घोषले अनुरागमाथि ट्वीट मार्फत यौन उत्पीडनको आरोप लगाएकी थिइन् । पायल घोषले आरोप लगाएकी थिइन् कि अनुराग कश्यपले ऋचा चड्ढा, माही गिल र मुहा कुरैशीसहितका अभिनेत्रीले आफूसँग यौन सम्बन्ध कायम गर्न राजी भएको र त्यस्तै अपेक्षा रहेको बताएका उल्लेख गरेकी थिइन् ।

अनुराग र ऋचा दुवैले सो आरोप अस्वीकार गरेका छन् र ऋचाले यसरी आफ्नो नाम लिएको प्रति पायल घोषलाई कानूनी नोटिस पठाएकी छन्।

प्रतिक्रिया दिनुहोस्