Logo

८१ प्रतिशत शिक्षकले बुझाए सम्पति विवरण



कखरा संवाददाता


३० भदौ, काठमाडौं । ८१ प्रतिशत शिक्षकले सम्पति विवरण बुझाएका छन् ।

देशभर कार्यरत स्याथी शिक्षकहरुमध्ये ८१ प्रतिशत शिक्षकले आर्थिक वर्ष २०७६/७७ को सम्पति विवरण बुझाएको राष्ट्रिय शिक्षक किताबखानाले जनाएको छ ।

किताबखानामा ८९ हजार शिक्षकको सम्पति विवरण आइपुगेको महानिर्देशक दिनेश कुमार श्रेष्ठले जानकारी दिए । यो विवरण गतवर्षको भन्दा ८ हजार ५ सयले बढी हो । गतवर्ष किताबखानामा ८० हजार ५ सय शिक्षकको सम्पति विवरण प्राप्त भएको थियो । १० हजार शिक्षकको दरबन्दी थप भएकाले पनि सम्पति बुझाउनेको संख्या बढेको उनले बताए ।

देशभर १ लाख ९ हजार १ सय १८ जना स्थायी शिक्षक रहेको शिक्षा तथा मानव श्रोत विकास केन्द्रका योजना तथा अनुगमन शाखाका निर्देशक घनश्याम अर्यालले जानकारी दिए । ‘कक्षा १२ सम्म १ लाख ११ हजार १ सय १८ जना स्याथी शिक्षकको स्वीकृत दरबन्दी छ,’ उनले भने, ‘तर, कक्षा १० सम्म अध्यापन गर्ने स्याथी शिक्षकको संख्या १ लाख ९ हजार १ सय १८ छ ।’

राष्ट्रिय सतर्कता केन्द्रले शिक्षा मन्त्रालयलाई पत्राचार गरेपछि मन्त्रालयले आफू मातहतका निकायलाई सम्पति विवरण बुझाउन निर्देशन दिएको थियो । सम्पति विवरण भदौ २८ गतेभित्र बुझाइसक्नुपर्ने थियो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले आफ्नो वा आफ्नो परिवारको नाममा रहेको सम्पत्तिको स्रोतसहितको आद्यावधिक विवरण आर्थिक वर्ष सकिएको मितिले ६० दिनभित्र पेश गर्नुपर्ने व्यवस्था छ ।

यो अवधिमा नबुझाएमा सम्बन्धित व्यक्तिको अनुरोधमा थप ३० दिन समय दिने व्यवस्था ऐनमा छ । थप गरिएको समयभित्र पनि सम्पत्ति विवरण नबुझाएमा ५ हजार रुपैयाँ जरिवाना गरी गैरकानुनी सम्पत्ति रहेको शंकामा अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ ।

राष्ट्रिय सतर्कता केन्द्रले अनुगमन गरी कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा लेखी पठाउने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्