Logo

वाइवाइ नेपाल स्टारको तेस्रो राउण्ड शनिबारदेखि



कखरा संवाददाता


२७ भदौ, काठमाडौं । नेपाल टेलिभिजनबाट प्रशारण हुने रियालिटी शो वाइवाइ नेपाल स्टारको तेस्रो राउण्ड यही शनिबारबाट सुरु हुने भएको छ ।

दोस्रो राउण्डबाट छानिएका ४८ प्रतिस्पर्धीले तेस्रो राउण्डमा प्रवेश पाएका छन् । यही राउण्डबाटै प्रतिस्पर्धीहरुले लाइभ म्युजिकमा गाउँदै आफ्नो गायन क्षमता प्रदर्शन गर्नुपर्नेछ । जहाँबाट छानिंदै अगाडि बढ्नका लागि प्रतिस्पर्धीहरुलाई यहाँ पनि निर्णायकहरुको मार्ककै आवश्यकता पर्नेछ । तुलनात्मक रुपमा कम मार्क प्राप्त गर्ने प्रतिस्पर्धीहरुले भने यही राउण्डबाट बिदा लिएर घर फर्किनेछन् ।

यस अघि डिजिटल राउण्डका रुपमा प्रसारित राउण्डमा देशका सातै प्रदेशमा सम्पन्न अडिशनबाट छानिएका १२० प्रतिस्पर्धीमध्ये ११७ जना सहभागी थिए । तिनै ११७ मध्येबाट छानिएका ४८ प्रतिस्पर्धीको बीच हुने गायन क्षमताको प्रतिस्पर्धा यो राउण्डमा हेर्न सकिनेछ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को विषम परिस्थितिका कारण प्रशारण अवरुद्ध भएको थियो । अहिले स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउँदै हरेक हप्ता नयाँ एपिसोड प्रस्तुत गर्ने तयारीमा निर्माण टोली रहेको वाइवाइ नेपाल स्टारका निर्देशक रवि श्रेष्ठले बताए । कार्यक्रमको निर्णायकमा रामकृष्ण ढकाल, अञ्जु पन्त र आलोकश्री रहेका छन् ।

कार्यक्रमका विजेता हुनेले पैंतीस लाख, दोस्रो, तेस्रो र चौथोले पाँच पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् । ।

प्रतिक्रिया दिनुहोस्