Logo

नेकपा बागलुङद्वारा बाढीपीडितलाई २० लाख सहयोग



कखरा संवाददाता


२५ भदौ, बागलुङ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले ढोरपाटनका बाढीपीडितलाई करिब २० लाख सहयोग गरेको छ । बिहीबार नेकपा बागलुङले ढोरपाटन–८ र ९ का बाढीपीडितलाई राहत स्वरूप १९ लाख ५८ हजार ७ सय ५६ रुपैयाँ रकम ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

राहत रकम हस्तान्तरण गर्दै नेकपा बागलुका अध्यक्ष इन्द्रलाल सापकोटाले बाढीबाट आफन्त गुमाएकाहरुका लागि आवासको व्यवस्था र पीडितका लागि आवश्यक राहतका लागि नेकपा सधैँ पीडितहरुकै साथमा रहेको बताएका छन् ।

नेकपा बागलुङले विभिन्न पालिकामा अभियान चलाएर जम्मा गरेको रकम एकमुस्ट ढोरपाटन नगरपालिकालाई हस्तान्तरण गरेको छ । जसमध्ये नेकपा बागलुङ नगरकमिटीले १ लाख ५० हजार, काठेखोला नगरकमिटीले १ लाख ६१ हजार १ सय, जैमिनी नगरकमिटिले ३० हजार, बरेङ गाउँकमिटि २५ हजार, ताराखोला गाउँकमिटीले २५ हजार, गलकोट नगरकमिटीले ३ लाख ९२ हजार १ सय ७६ रुपैयाँ सहयोग गरेको छ ।

यस्तै, बडिगाड गाउँकमिटीले ८४ हजार ५ सय ७५, ढोरपाटन नगरकमिटीले ४ लाख ४३ हजार ७ सय, तमानखोला गाउँकमिटीले २० हजार, निसीखोला गाउँकमिटीले २० हजार, अखिल नेपाल महिला संघ बागलुङले ८२ हजार १ सय ८५, युवा विद्यार्थीले २ लाख २३ हजार ५ सय रुपैयाँ सहयोग गरेका छन् ।

त्यसैगरी, धौलागिरी क्याम्पसका प्राध्यापक र कर्मचारीबाट २६ हजार ५ सय, मुक्ति समाज बागलुङले ५ हजार २०, उद्योग व्यापार संगठन बागलुङले ५० हजार, बागलुङका जिल्ला कार्यालयले २ लाख ८ हजार गरी १९ लाख ५ हजार सात सय ५६ रुपैयाँ सहयोग रकम संकलन भएको नेकपा बागलुङका सचिव ज्ञामनाथ गैरे अनिलले जानकारी दिए ।

राहत हस्तान्तरण कार्यक्रममा नेकपा गण्डकीका सचिव गोविन्द नेपाली, संघीय सांसद मनकुमारी केसी, सूर्य पाठक, बागलुङ इन्चार्ज बलावती शर्मा, प्रदेश सांसद दिपा रोकालगायतका नेताहरुको उपस्थित रहेको थियो । कार्यक्रममा निजामति कर्मचारी टे्रड युनियनको तर्फबाट २ लाख ५४ हजार ८ सय ६० रुपैयाँ र ओम विकास तथा देउकुमारी गौचन स्मृति प्रतिष्ठानले १० हजार सहयोग रकम ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई हस्तान्तरण गरेका छन् ।

यसअघि नेकपा गलकोट–२ को वडा कमिटीले १ लाख ३८ हजार र वडा नम्बर ७ को वडाकमिटीले ४६ हजार सहयोग गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्