Logo

२५ भदौदेखि नियमित व्यवसाय सञ्चालन नाडाको निर्णय



कखरा संवाददाता


२३ भदौ, काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले २५ भदौदेखि सम्पूर्ण व्यवसायीलाई नियमित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

नाडाको सोमबार बसेको पदाधिकारी बैठकले २४ भदौसम्म निषेधाज्ञाको समय रहेकोले २५ गतेदेखि नियमित रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्ने निर्णय गरेको हो । नाडाका अध्यक्ष कृष्ण प्रसाद दुलालले १ सय ८० दिनसम्म सरकारको आदेश मानेर बसेको अवस्थामा अब हुने लकडाउनको पालना नगर्ने गरी सबै व्यवसायीलाई आफ्नो व्यवसाय सञ्चालन गर्न आग्रह गरिएको बताए ।

उनले सरकारले देशको अर्थतन्त्रलाई बुझेर व्यवसाय गर्न पाउने गरी सहजीकरण गर्नुपर्ने बताए । सरकारले त्यस्तो व्यवस्था नगरे पनि निषेधाज्ञालाई तोडेर अथवा विद्रोह गरेर भए पनि व्यवसाय सञ्चालन गर्ने बताए ।

‘सरकारले बुझेर लकडाउनलाई केही न केही सहजीकरणभन्दा पनि पूरै व्यवसाय गर्न पाउने गरी सहजीकरण गरेर अगाडि बढ्न पर्छ । यदि गरेन भने पनि यो निषेधाज्ञा तोडिन्छ, जनताले विद्रोह गर्छन्, व्यवसायीले विद्रोह गर्छन्,ु उनले भने, ुयो कसैले पनि मान्ने वाला छैन त्यस कारण कसैले पनि नमान्ने खालको नियम ल्याउनु भनेको यो ठीक हुँदैन सरकारले बुझ्नुपर्छ ।’

उनले सरकारी कर्मचारीले काम नगरे पनि तलबभत्ता आइराख्ने भएकाले कोरोना संक्रमण देखिएदेखि नै लकडाउन गर्नुपर्छ भनिरहेको भन्दै असन्तुष्टि व्यक्ति गरे । व्यवसायी र उद्योगपतिबाहेक कसैले पनि लकडाउनको विरोध नगरेको पनि दुलालले बताए । घरमै बसीबसी तलब भत्ता आउने भएपछि किन लकडाउन खोल्ने भन्ने मानसिकता कर्मचारी र राजनीतिज्ञमा रहेको दुलालको भनाइ छ ।

‘सुरुदेखि नै हेर्‍यो भने सरकारी कर्मचारीले कहिले पनि काममा जानुपर्छ भनेर भनेको छैन । जति पनि सरकारी कर्मचारीले के भनेका छन् भने बन्द गर्नुपर्छ कोरोना फैलिन्छ घरमा बस्नुपर्छ भनेको छ । किन भने उहाँहरूले तलब बसीबसी पाउनुभएको छ,ु उनले भने, ुव्यवसायीबाहेक खोल्नुपर्छ भन्ने मान्छे उद्योपति, व्यवसायी घरमा बसेर पैसा आउने जति पनि राजनीतिज्ञ, नेता र कर्मचारी छन् सबै बन्द गर्नुपर्छ कोरोना सर्छ भनेको नै आवाज सुन्छौँ ।’

उनले कोरोना नियन्त्रणका लागि शोक मनाएर बस्दाबस्दै भोक लाग्ने बेला भइसकेको बताउनुभयो । पछिल्लो समय भारत पाकिस्तान लगायत विश्वभर लकडाउन खुलिसकेको अवस्थामा नेपालमा पनि खोल्नुको विकल्प नभएको दुलालले बताए । लकडाउन समस्याको समाधान नभएकाले सुरक्षित भएर काम गर्नु नै देशको आवश्यकता रहेको पनि उनले स्पस्ट पारे । विश्वलाई हेरेर व्यवसाय सूचारु गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्