Logo

एसिड आक्रमणविरुद्ध कडा दण्डसहित अध्यादेश ल्याउँदै सरकार



कखरा संवाददाता


१९ भदौ, काठमाडौं । एसिड आक्रमणबाट पीडित भएकाहरुको अधिकार सुनिश्चित गर्न र आक्रमणकारीहरुलाई कडा दण्डको व्यवस्था गर्न सरकारले अध्यादेश जारी गर्ने तयारी गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणका पीडितहरुलाई यही भदौ २५ गते बालुवाटारमा भेला गराउने र त्यही भेलामा अध्यादेशमा समावेश गरिएका महत्वपूर्ण प्रावधानबारे औपचारिकरुपमा जानकारी दिने तयारी गरेका छन्।

एसिड आक्रमणबाट पीडित भएकाहरुको पक्षमा निरन्तर लड्दै आएका सामाजिक एवं मानवअधिकार अभियान्ता उज्जलबिक्रम थापाको अभियानको पृष्ठभूमिमा प्रधानमन्त्री ओलीसँगको दुई दिन अघि भएको भेटमा प्रधानमन्त्री ओलीले अध्यादेश जारी गर्नेबारे संकेत दिएको थापाले देशसञ्चारसँग बताए।

एसिड बिक्रीबितरणमा कडाई गर्ने, त्यसको उल्लंघन भएमा बिक्री गर्ने र खरीद गर्ने दुबैलाई सजाय दिने, पहिचान पत्रको स्पष्ट व्यवस्था गर्ने लगायतका प्रावधान अध्यादेशमा राख्ने तयारी भएको छ।

महान्यायाधिवक्ता अग्नि खरेलको नेतृत्वमा अध्यादेश तयार भइरहेको बुझिएको छ। हाल संसदको अधिवेशन नभएको हुँदा सरकारले एसिड सम्बन्धी अध्यादेश जारी गर्न लागेको हो।

थापाको समूहले काठमाडौँका दुई प्रमुख अस्पताल त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालमा पूर्ण सुविधासहितको एसिड आक्रमणबाट पीडित भएकाहरुको उपचार कक्ष विकसित गर्न पनि प्रधानमन्त्री ओलीसमक्ष आग्रह गरेका छन्। पछिल्ला केही वर्षहरुमा आक्रमणका घटना बढ्दै गएका छन्।

यस्ता आक्रमणमा सबैभन्दा बढी महिला पीडित भएका छन्। केही महिना अघि एक पुरुष पनि एसिड आक्रमणको सिकार बन्न पुगेका छन्। अभियान्ताले एसिड आक्रमणबाट घाइते भएकाहरुको आँखा, कान, नाक र घाँटी तथा हातखुट्टा जस्ता अंगहरुको उपचार निःशुल्क गर्न पनि सरकारसँग आग्रह गरेका छन्।

र, त्यसप्रति सकारात्मक धारणा प्रधानमन्त्री ओलीबाट आएको बुझिएको छ। सरकारी स्रोतका अनुसार एसिड निश्चित रंगको बोतलमा मात्रै बिक्री वितरण गर्न पाइने र आधिकारिक निकाय या व्यक्तिबाट खरीद गर्न पाइने व्यवस्था अध्यादेशमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्