Logo

सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट करोडौँ घाटामा



कखरा संवाददाता


१९ भदौ, काठमाडौं । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट मेसिनकाे खराबीका कारण २ वर्षदेखि घाटामा चल्दै आएको छ । झन् कोरोना महामारीले उद्योगलाई शिथिल बनाएको छ ।

सरकारी स्वामित्वमा रहेका देशका अधिकांश उद्योगहरू धराशयी भइरहेका छन् । सरकारी बेवास्ताका कारण हेटौँडा औद्योगिक क्षेत्रभित्र रहेका कपडा उद्योगदेखि धेरै पुराना उद्योगहरूको अस्थिपञ्जर मात्रै बाँकी छ ।

अब विगतका उद्योगहरूले भोगेको नियती हेटौँडा सिमेन्ट उद्योगले पनि भोग्न थालेको छ । हेटौँडा सिमेन्टको क्षमता विस्तार गर्ने योजना पनि कागजमै सीमित छ ।

सरकारी सिमेन्ट उद्योग विगत २ वर्षदेखि निरन्तर घाटामा गइरहेको छ । केही वर्ष नाफामा गएको हेटौँडा सिमेन्टले आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा करोडौँ घाटा ब्यहाेरेको हो । आर्थिक वर्ष २०७२/७३ देखि निरन्तर नाफामा गइरहेको उद्योग आव २०७५/०७६ मा मेसिनमा खराबीका कारण लामो समय बन्द हुँदा घाटामा गएको थियो ।

आव ०७५/०७६ मा उद्योगले करिब १ करोड ५ लाख रुपैयाँ घाटा ब्यहाेरेको उद्योगको लेखा परीक्षणबाट देखिएको छ । आर्थिक वर्ष २०७६/७७ मा उद्योगले झण्डै ५ करोड रुपैयाँ घाटा व्येहोर्ने अनुमान छ ।

सञ्चालक समितिको अध्यक्ष पद खाली हुँदा आन्तरिक लेखा परीक्षण स्वीकृत गरी महालेखा कार्यालयमा बुझाउन सकिएको छैन । २८ कात्तिक २०७६ देखि सञ्चालक समिति अध्यक्ष पद रिक्त छ ।

२०७६ साल वैशाखदेखि असारसम्म उद्योगका मेसिनमा खराबीका कारण मात्र तीन पटक उद्योग बन्द भएको थियो । जसका कारण त्यस वर्ष उद्योगले घाटा ब्यहाेरेको हो । उद्योगमा रहेका मेसिनहरू पुराना भएपछि कार्यक्षमतामा ह्रास आएका कारण उत्पादन लागत बढी भएको भन्दै उद्योगले क्षमता विस्तार गर्ने लक्ष्य राखेको छ ।

तर, उद्योगको लक्ष्यलाई सरकारकै साथ छैन । आधुनिक मेसिन जडान गरी काम गर्दा सिमेन्टको उत्पादन लागत कम हुने र अन्य सिमेन्टसँग बजारमूल्यमा प्रतिस्पर्धा गर्न सकिने उद्योगको निष्कर्ष छ ।

उद्योगले दैनिक ३ हजार मेट्रिकटन क्षमता विस्तार गर्न यसअघि नै प्रस्तावपत्रसमेत पेस गरिसकेको छ ।

मातृका यादव उद्योगमन्त्री हुँदा प्रस्ताव माग गरिए पनि लेखराज भट्ट नयाँ उद्योगमन्त्री भएर आएयता उद्योगको क्षमता वृद्धि गर्नेबारे छलफल नै भएको छैन । नयाँ उद्योगमन्त्रीले चासो नदिँदा उद्योगले बनाएको प्रस्तावपत्र पनि उद्योगमै थन्किएको छ । उद्योगको क्षमता विस्तार गर्न सरकार उदासीन हुँदा हेटौँडा सिमेन्ट धराशयी बन्दै गइरहेको छ ।

२०४३ सालबाट व्यावसायिक उत्पादन सुरु गरेको उद्योगका धेरै मेसिनहरू पुराना भएका कारण उत्पादनमा ह्रास आउँदा उत्पादन लागत बढी हुने गरेको छ । जसका कारण निजी सिमेन्ट उद्योगसँग मूल्यमा प्रतिस्पर्धा गर्न सकिरहेको छैन ।

उद्योगले उत्पादन गरेको सिमेन्टको बजारसँगै बिक्री पनि घट्दै गएको छ । उद्योगको उत्पादनको बिक्रीमा आएको ह्रासले उद्योग थप आर्थिक जोखिम र सङ्कटमा पर्ने देखिएको छ ।

कोरोना महामारीका कारण सिमेन्ट बिक्री हुन नसकेको र उत्पादनमा पनि ह्रास आएकाले उद्योग गत वर्ष घाटामा गएको उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले बताए ।

‘उत्पादन र बिक्रीको अवस्था हेर्दा उद्योग गत आर्थिक वर्षमा पनि घाटामै छ । कोरोनाको प्रभावका कारण सिमेन्ट बिक्रीमा निकै गिरावट आएकाले नै हामीले उद्योगलाई घाटाबाट बचाउन सकेनौँ,’ सिंहले भने ।

उद्योगले गत आर्थिक वर्ष २०७६/७७ मा १९ लाख बोरा सिमेन्ट र क्लिङ्कर उत्पादन गरेकोमा १४ लाख ५५ हजार ९ सय ६ बोरा मात्रै सिमेन्ट बिक्री गरेको उद्योगको बिक्री महाशाखाको तथ्यांक छ । कोरोनाका कारण मुख्य सिजन चैत, वैशाख, जेठ र असारमा सिमेन्ट बिक्री हुन नसक्दा आर्थिक वर्षको अन्त्यसम्ममा उद्योगमा झण्डै ४ लाख बोरा सिमेन्ट स्टक थियो ।

उद्योगले अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा झण्डै २३ लाख बोरा सिमेन्ट उत्पादन गरेकोमा २० लाख ८६ हजार ६ सय ८ बोरा बिक्री गर्न सफल भएको थियो ।

त्यसवर्ष उद्योगले १ करोडको हाराहारीमा मात्र घाटा व्येहोरेकोमा गत वर्ष २०७६/७७ मा उत्पादन र बिक्रीमा झनै कमी भएपछि घाटाको आँकलन ५ करोड पुगेको उद्योग प्रशासनले जनाएको छ ।

उद्योगका महाप्रबन्धक सिंहले कोरोनाका प्रभाव हटेपछि पनि उद्योगको क्षमता विस्तारबिना नाफामा लैजान कठिन हुने बताए । आर्थिक वर्ष २०७२/७३ मा ३० करोड रुपैयाँ नाफा गर्न सफल भएको उद्योगले आव २०७३/०७४ मा २२ करोड रुपैयाँ, २०७४/७५ मा २३ करोड रुपैयाँ नाफा गरेको थियो ।

२०७२ सालमा उद्योगको सञ्चालक समितिको अध्यक्षमा नियुक्त भएका रघुरमण न्यौपानेको कार्यकालभर उद्योगले निरन्तर नाफा गरेको थियो । उनको २८ कात्तिक २०७६ देखि ३ वर्षे कार्यकाल सकिएको थियो ।

‘म अध्यक्ष हुँदा धेरै प्रलोभनहरू आए, यी सबैलाई पन्छाएर मैले नि:स्वार्थभावले काम गरेको थिएँ । त्यसैले नाफामा गएको थियो,’ न्यौपाने भन्छन् ।

प्रतिक्रिया दिनुहोस्