Logo

राष्ट्रिय सभा सदस्य बन्न बामदेवको पहल



कखरा संवाददाता


१६ भदौ, काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाको समयावधि सकिन लागेका बेला नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभामा आउन तयार रहेको मनसाय सार्वजनिक भएको छ। गौतमका प्रेस सहयोगी विश्वमणि सुवेदीका अनुसार गौतम पार्टी सचिवालयले गरेको निर्णय कार्यान्वयनको प्रतीक्षामा छन्।

गत फागुन १४ गते बसेको नेकपा सचिवालय बैठकले गौतमलाई राष्ट्रिय सभाका लागि सिफारिस गरेको थियो। तर उक्त सिफारिस कार्यान्वयनमा आउन सकेको छैन। राष्ट्रिय सभामा नियुक्त भएर अर्थमन्त्री भएका खतिवडा यतिबेला सांसद पदबिनै मन्त्री छन्। सांसद नभएको व्यक्ति ६ महिनासम्म मात्र मन्त्री हुन पाउने कानुनी व्यवस्था छ। उनको ६ महिना भदौ २० गते पुरा हुँदै छ। मन्त्रीमा निरन्तरता पाउन खतिवडा पुन राष्ट्रिय सभा सदस्य नियुक्त हुनुपर्छ।

खतिवडालाई निरन्तरता दिने प्रधानमन्त्रीको तयारी बुझेपछि गौतमले आफ्नो धारणा सार्वजनिक गरेको बुझिएको छ। गत प्रतिनिधी सभाको प्रत्यक्षतर्फ निर्वाचनमा पराजित भएका गौतमलाई संसदमा ल्याउन पार्टीले प्रयाश गरेपनि सफल हुन सकेको छैन। नेकपाभित्रको आन्तरिक द्धन्द्धका कारण गौतमको संसद प्रवेश गर्ने इच्छा पुरा हुन सकेको छैन।

गत वैशाख २० गते बसेको नेकपा सचिवालय बैठकले उनलाई उपयुक्त समयमा प्रतिनिधि सभा सदस्यको उमेदवार बनाउने अर्को निर्णय पनि गरेको थियो। तर प्रतिनिधी सभाको बाटोबाट संसद प्रवेश गर्ने सम्भावना तत्काल कमजोर देखेपछि गौतमले खतिवडालाई राष्ट्रिय सभा सदस्यमा पुन ल्याउने तयारी गरिरहेका प्रधानमन्त्री ओलीलाई दबाब दिन खोजेको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्