Logo

निषेधाज्ञाबीच गुर्जे चौकीमा एक नेताको छ घण्टा



कखरा संवाददाता


तोयानाथ थपलिया
लकडाउनदेखि म अधिकांश नुवाकोटको घरमा बस्दै आएको छु । भदाै ११ गते औषधि किन्न काठमाडाैं गएर १२ गते गाउँ फर्कने क्रममा दिउँसो १ बजे काठमाडौं र नुवाकोटको सीमा पर्ने गुर्जे चौक‍ी आइपुगेँ । शिवपुरी गाउँपालिका सिल भएकोले जान नमिल्ने चौकी ईन्चार्जले बताउनुभयो । प्रेस्क्रीपसन र औषधि देखाउँदै म शिवपुरी ८ को नागरिक बताउँदा अनुमति मिलेन । जिल्लाको आदेश भए मात्र छोड्न सकिने बताइयो । म जस्तै औषधि लिएर आएका र जरुर काम परेका ५ वटा मोटरसाइकल थिए ।

मैले सांसद हित बहादुर तमाङलाई आफ्नो र त्यहाँ भएकाको समस्या सुनाएँ । उहाँले प्रजिअलाई फोन गर्नु भयो । त्यो नाकाबाट शववाहन र एम्बुलेन्स बाहेक अन्य साधन नछोड्ने निर्णय भएकोले प्रवेश दिन नसकिने बताउनुभएको कुरा मलाई खबर गर्नुभयो र काठमाडाैं फर्कन सल्लाह दिनुभयो । प्रजिअले तपाईलाई राम्रैसँग चिन्छन् भनेपछि उहाँसँग नम्बर मागेर मैले फोन गरेँ। प्रजिअले सरलाई २०४५ सालदेखि चिन्छु भन्नुभयो । म उहाँलाई नामले चिन्दिन देख्दा चिन्छु चिन्दिन थाहा छैन। मैले शववाहन र एम्बुलेन्स बाहेक अन्य सबै साधन प्रवेश निषेध गरेको छु,आफ्नै आदेश विपरित अर्को आदेश गर्न असमर्थ छु सरी, भन्नुभयो। मैले घर जाने आशा मारेँ। साँच्चै एम्बुलेन्स र शववाहन वाहेकका गाडी–मोटरसाइकल प्रवेश गर्छन् कि गर्दैनन् केहीबेर बसेर फर्कन्छु भन्ने सोचेँ र बसेँ। पटक–पटक गरी ४ जना सेनाका वाइक पास भए ।

३ वटा पब्लिक माेटरसाइकल प्रवेश गरे। त्यसपछी लिखु गाउँपालिकका अध्यक्षको गाडी काठमाण्डौं र उपाध्यक्षको गाडी नुवाकोटका लागी आइपुगे। लिखु अध्यक्ष धुर्व श्रेष्ठले दाईलाई छोडिदिन भने र गए । शिवपुरी ४ का वडा अध्यक्ष पनि चौकीमा चिनजान हुनाका नाताले मलाई जान दिन सिफारिस गर्दै मोटरसाइकलमा काठमाडाैं प्रवेश गरेँ। त्यसपछी ७२ वर्षका किड्नीका बिरामी डाईलसिस गराएर टाटा सुमोमा आएर घरजाने अनुमति मागे । उनलाई गल्छीबाट जान भनियो । तत्पश्चात बागमती प्रदेशका सांसद केशव पाण्डेको गाडी आइपुग्यो। ड्राइभरले मलाई बोलायो । पाण्डेजीले कता जान लाग्नुभयो, किन बस्नुभयो सोधे ।

गाउँ जाने अनुमति पर्खेर बसेको भनेपछी उर्हाँलाई छोडिदिनुस म प्रजिअसँग कुरा गरौँला भनेर गए । फेरि केही चौकिका सिपाहीका चिनजानका मोटरसाइकल पास भए । मैले सोचेँ र त्यहाँ भएका भाइहरुसँग भनेँ प्रजिअ, सांसद, गृहमन्त्री चिन्नुभन्दा यहाँको एउटा सिपाही चिनेको भए काम लाग्ने रहेछ । त्यहीबीचमा चौकीको केही तल दाना बोकेको गाडी बिना इन्ट्री प्रवेश गराइयो। जागरुक कृषि सहकारीको तरकारीको गाडी फर्काइयो। बिहान दुधको गाडी प्रवेश दिइएको रहेछ ।

मलाई आफूलाई प्रवेश नदिएकोमा भन्दा किमो दिएर आएको गाडीलाई प्रवेश नदिएकोमा पीडा भयो । जनप्रतिनिधिहरुले तिनको ख्याल पनि गरेनन् । साँझ पर्दै थियो। एउटा मोटरसाइकललाई जाने अनुमति आयो, जानुस् भनेपछी मैले रोकेँ र सोधेँ अनुमति कसकाे । अघि पठाउनु भएका सेता प्लेटका गाडी र मोटरसाइकल शववाहन हुन् कि एम्बुलेस ? दाना वोक्ने गाडी किन छोड्नुभयो ति कस्का अनुमतिमा छोड्नुभयो ? टाटा सुमोको यो बिरामी किन रोक्नुभयो ? प्रश्नको उत्तर थिएन र जवाफ पनि आएन । त्यतिबेला मात्र मैले आफ्नो परिचय दिएँ । तपाईंको गुनासो माथि गर्नुस् मात्र जवाफ आयो । त्यसपछी बिरामीको सुमो छोडियो । मलाइ धन्यवाद दिँदै उनीहरु गए ।

मैले प्रजिअलाई दुई कल गरेँ, फोन उठेन । अनि म्यासेज गरेँ। सर पुलिसका चिनजानका मोटरसाइकल आतेजाते छन् । सरकारी प्लेटका गाडी दशैंमा बसले प्यासेन्जर बोकेझैँ मान्छे कोचेर आए गए । दानाका गाडी प्रवेश भए तरकारीका फर्काइए। शववाहन र एम्बुलेन्स बाहेक निषेध भन्नुहुन्थ्यो। तपाईंको अनुमति हो भने हामीलाई किन अनुमति दिनुभएन ? चौकीको मनोमानि हो भने तपाईं चौकी ईन्चार्जलाई के कारवाही गर्नुहुन्छ ? कृपया जवाफको अपेक्षा भनेर पठाएपछि प्रजिअको फोन आयो वडा अध्यक्षको र चौकीको समन्वयमा छोड्न भनेको छु भने र १०–११ वटा माेटरसाइकललाई गन्तव्यमा जान दिइयो ।

मैले आफू नेता भएकाले छोड्नपर्ने धम्कि दिएको, आफ्नोमात्र प्रवेशको माग गरेको र केशव पाण्डे र धुर्व श्रेष्ठहरुलाई अनुनय गरेको भन्ने समाचार असत्य हो । उनीहरुले मेरो आग्रह विपरित छोडिदिन भनेको चाहिँ सत्य हो। यथार्थता यही हो । केही अनलाइनले नेकपाको नेताको सान लगाए​को, वडा अध्यक्षको जिम्मा छोडिएको काल्पनिक र प्रायोजित समाचार प्रकाशित गरेछन् र चौकी ईन्चार्जलाई इमान्दार र वफादार भन्दै मेरो चरित्र हत्या गर्ने दुष्प्रयास गरेछन् । चौकी ईन्जार्जले खिचेको फोटो प्रकाशित गरेछन् । म त्यो झुट समाचारको खण्डन गर्दछु ।

कोरोना कहिले समाप्त हुने थाहा छैन । चैत देखिका लकडाउन गरेर कमिसन र घुसखोरीमा रमाउनेहरुले लकडाउनका अवधिमा देशव्यापी जुलुस गर्न लगाएर समुदायमा कोराना फैल्याएका हुन् । कति महिना कति वर्ष लकडाउन र निषेधाज्ञा गरी जनतालाई घरमा थुनेर राख्ने ? अत्यावश्यक काममा आतेजाते रोक्ने, दुध चल्ला दाना तरकारी रोक्ने निर्णय जनविरोधी छ । म यस्ता जनविरोधी निर्णयको निन्दा गर्दछु ।

जन प्रतिनिधि र राजनीतिक पार्टीहरुको तत्काल ध्यानाकर्षण गराउँछु । लकडाउन निषेधाज्ञा वा सिलका नाममा अत्यावश्यक आवागमन र अत्यावश्यक वस्तुको ओसारपसारमा प्रतिबन्ध निन्दनीय छ। जिल्ला विपद् व्यवस्थापन समितिले अविलम्व निर्णय सच्याउन आवश्यक छ । जिल्ला प्रतिबन्ध लगाउने चौकीहरु रातमा लेनादेना गरी गाडी पास गर्ने र अत्यावश्यक वस्तु ओसारपसार गर्नुपर्ने जनताको बाध्यात्मक अवस्थाको अन्त्य होस् ।

(नेकपा नुवाकोटका स्थानीय नेता थपलियाको सामाजिक संजालबाट साभार)

प्रतिक्रिया दिनुहोस्