Logo

धानबालीमा गवारो रोगको प्रकोप, किसान चिन्तित



कखरा संवाददाता


११ भदौ, काठमाडौं । सप्तरीमा लगाइएको धानबालीमा गवारो रोगको प्रकोप देखिन थालेपछि त्यहाँका किसान चिन्तित बनेका छन् । एक महिनाअघि आएको बाढीले धानबालीमा ठूलो क्षति पुर्‍याएको र अहिले गवारो रोग देखिन थालेपछि किसान थप चिन्तित बनेका हुन् ।

यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए । उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एक महिनाअघि आएको बाढी र अहिले एकाएक रोगको प्रकोप देखिन थालेपछि भने मारमा परेका हुन् ।

पुतली प्रजातिको गवारो कीराले धानको गाभा काटेर क्षति गर्ने गरेको किसान बताउँछन् । कीराको प्रकोप बढ्दै जाँदा धानको बोट सुकेर पहेंलो हुन थालेको छ । एक महिनाअघि आएको बाढीबाट बचेका धानबालीमा अहिले गवारो रोगले नष्ट हुन थालेपछि आफूहरु चिन्ता बढेको अर्का किसान लाल माझीले बताए ।

समयमै रोग निर्मूल पार्न नसके बाली सखाप हुने र किसान भोकभोकै हुनुपर्ने अवस्था आउन सक्ने उनले बताए । सप्तरी धान खेतीमा अब्बल मानिन्छ ।

जिल्लाको तिलाठी कोइलाडी, विष्णुपुर, बालन बिहुल र खडक गाउँपालिका तथा हनुमाननगर कंकालिनी नगरपालिकालगायत क्षेत्रको धानबालीमा गवारो रोगको प्रकोप बढी देखिएको छ ।

तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतीश सिंहले धानबालीमा गवारो रोगको प्रकोपले ६० देखि ७० प्रतिशत क्षति पुगेको बताए । प्रकोप नियन्त्रण तथा किसानलाई राहत प्रदान गर्न गाउँपालिकाको साधन स्रोतले भ्याएसम्म आफूले पहल गरिरहेको उनको भनाइ छ ।

बाढी र कोरोनाको कहरबाट उन्मुक्ति नपाउँदै धानबालीमा देखिएको गवारो रोगको प्रकोपले आफूहरू थप मारमा परेको किसानको भनाइ छ ।

कृषि ज्ञान केन्द्र राजविराजका प्रमुख राजेन्द्रप्रसाद यादवले खेतमा प्रयोग गरिने रासायनिक मल, डीएपी, युरिया, पोटासलगायत मात्रा नमिल्दा पनि बालीको जरा कमजोर भई कीराको आक्रमण बढेको बताए ।

जिल्लाको उत्तरी भागमा गवारो किराको प्रकोप बढी देखिएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सप्तरी, सिरहालगायत प्रदेश २ का प्रायः सबै जिल्लामा यो रोगले धानबालीमा क्षति गर्ने गरेको छ ।

यसको नियन्त्रण तथा रोकथामका लागि किसानमा सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्