Logo

कांग्रेस बलियो बनाउन ठीक नेतृत्व चाहिन्छ: नेता सिंह



कखरा संवाददाता


११ भदौ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीलाई संस्थागत रुपमा अगाडि बढाउने नेतृत्व पार्टीभित्र आवश्यक रहेको बताएका छन्।

नेपाल महिला संघका संस्थापक अध्यक्ष मंलादेवी सिंहको २४ औँ स्मृति दिवसका अवसरमा संघको केन्द्रीय समितिले बुधबार आयोजना गरेको ‘वर्तमान अवस्थामा महिलाको चुनौती र नेपाली काँग्रेसको विधान’ विषयक भर्चुअल अन्तरक्रियामा सिंहले नेतृत्वप्रति कार्यकर्ताको भरोसा गुम्दै गएको बताए।

‘कांग्रेस बलियो भएन भने लोकतान्त्रिक व्यवस्था बलियो हुन सक्दैन, कांग्रेस बलियो बनाउनका लागि ठिक नेतृत्वको हातमा कांग्रेसलाई लैजानुपर्छ, उनले भने। आर्थिक क्रान्तिको नेतृत्व कांग्रेसले मात्र गर्नसक्ने उनको भनाई थियो।

नेता सिंहले नेपाली महिलाको हक, अधिकारका लागि मङ्गलादेवीले आवाज उठाएको उल्लेख गर्दैै पहिचान, स्वतन्त्रताका लागि लड्ने साहसी महिला स्व सिंह भएको उल्लेख गरे।

पार्टीको १४ औँ महाधिवेशनका लागि महिलालाई क्रियाशिल बनाउनु जरुरी रहेको सिंहको भनाइ थियो। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रवक्ता विश्वप्रकाश शर्माले मङ्गलादेवी सिंह साहसी र विद्रोही महिला भएको उल्लेख गरे। ‘मङ्गलादेवी सिंहले गरेको क्रान्तिका कारण पछिल्लो समय नेपाली महिला नेतृत्वमा पुग्न सकेका छन्, उनले भने।

उनले दक्षिण एशियामा पहिलो महिलामन्त्री, सभामुख, प्रधानन्यायधीश, राष्ट्रपति नेपाली महिला भएको बताउँदै नेपाली महिला अमेरिकी महिलाभन्दा पनि अगाडि भएको स्पष्ट पारे। प्रतिशत भन्दा प्रतिस्पर्धा गरेर महिला अगाडि बढ्नुपर्ने उनको भनाई थियो । सामाजिक रुपान्तरणका लागि महिला लाग्नुपर्ने प्रवक्ता शर्माले बताए।

कांग्रेस केन्द्रीय सदस्य एवम् महिला विभाग प्रमुख ईश्वरी न्यौपानेले महिला आन्दोलनका कारण संविधानले महिलालाई अधिकार दिएको उल्लेख गरिन्।

प्रतिक्रिया दिनुहोस्