Logo

विदेशमा अलपत्र नेपालीको उद्धार अब नियमित उडानमार्फत



कखरा संवाददाता


७ भदौ, काठमाडौं । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विदेशमा अलपत्र नेपाली नागरिकको उद्धार सुचारु गर्ने निर्णय गरेको छ।

यसअघि कोरोना भाइरस संकट व्यवस्थापन केन्द्र(सीसिएमसीले सोमबार विदेशमा अलपत्र नेपालीको उद्धार रोक्न नागरिक उड्डयन प्राधिकरणलाई पत्राचार गरेको थियो। अनुमति पाइसकेका चार्टर्ड उडानसमेत रद्ध भएका थिए।

मन्त्रिपरिषद् बैठकले अब नियमित उडान भएका देशबाट नियमित उडानमार्फत र अन्य देशको हकमा चार्टर्ड उडानमार्फत उद्धार उडान गर्ने पनि निर्णय गरेको छ।

उद्धार उडान कहिलेबाट सुचारु गर्ने भन्ने विषयमा अब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले निर्णय गर्ने छ।

सरकारले दैनिक बढीमा १५ सय जनासम्म ल्याउने निर्णय पनि गरेको छ। स्रोतका अनुसार स्वदेश फर्कन चाहनेले ७२ घण्टा ननाघेको पीसिआर रिपोर्ट बुझाउनुपर्ने र काठमाडौँमा सात दिनसम्म आफै रकम तिरेर क्वारेन्टिन बस्नुपर्ने निर्णय गरेको छ।

कुन कुन देशबाट नियमित उडान गर्ने भन्नेबारे केही खुलाइएको छैन। हालसम्म विभिन्न ३० देशबाट झण्डै ५२ हजार नेपालीलाई स्वदेश ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्