Logo

जनताको कुरा सुनौँ, अहम्‌ नगरौँ भन्दा कुर्सीको पछि लागेको हुँदैन: नेता नेपाल



कखरा संवाददाता


७ भदौ, काठमाडौं । नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले सरकारको कार्यशैली बदल्न खोजेको बताएका छन् ।

सत्तारुढ नेकपाभित्र पछिल्लो समय देखिएको विवाद पदका लागि नभएको बताउँदै उनले आफूहरुले सरकारले कार्यशैली बदल्नुपर्छ भनिरहेको बताएका हुन् ।

कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका उपायबारे काठमाडौँ क्षेत्र नम्बर २ का जनप्रतिनिधि, राजनीतिक दलका नेता तथा चिकित्सकहरुसँगको जुम सेमिनारमा नेता नेपालले सरकारले जनताका कुरा सुन्नु पर्छ भन्नु नै अहिलेको नेकपाको विवाद भएको उल्लेख गरे ।

उनले भने, ‘अह्म नराखौं । जनताका कुरा सुनौं भन्दा कुर्सीको पछि लागेको हुँदैन । कार्यशैली बदलौँ भन्दा कुर्सीको पछि लागेको हुँदैन। हामीले भनेको त्यही हो ।’

नेता नेपालले आफूले कहिल्यै पनि कुर्सीका लागि राजनीति नगरेको उल्लेख गरे । ‘म कुर्सीको पछि लागेको छैन । प्रधानमन्त्रीको पद पनि राजीनामा दिएर छाडेको हुँ । पार्टीको पदबाट पनि राजीनामा दिएको थिएँ’, उनले भने।

कार्यक्रममा पूर्वसांसद एवं कांग्रेस नेता दीपकप्रसाद कुईकेलले कोरोनाको रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भीर नभएको गुनासो गरे ।

उनले स्थानीय तह कोरोना नियन्त्रणका लागि गम्भीर देखिए पनि केन्द्र र प्रदेश सरकार बेखबर भएको उल्लेख गरे ।

‘सरकार बेखबर भएर बसेको छ। स्थानीय सरकारले राम्रो काम गरेको छ। प्रदेश सरकारको उपस्थित देखिएको छैन’, कुईकेलले अगाडि भने, ‘उहाँहरु सत्ताको छिनाझपटीमा लागिरहनुभएको छ। नेकपा गम्भीर देखिएको छैन ।’

उनले सरकारले कोरोनाका कारण पेशा व्यवसाय धरापमा परेकाहरुको समस्यालाई पनि सुन्नुपर्ने बताए ।

कार्यक्रममा कागेश्वरी मनोहराका मेयर कृष्णहरि थापा र शंखरापुरका मेयर सुवर्ण श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि आफूले गरेका कामबारे जानकारी गराएका थिए।

मयेर थापाले मुलपानी नगर अस्पतालमा सय वेडको आइसोलेसन सेन्टर निर्माणमा जुटेको बताए ।

कार्यक्रममा जनस्वास्थ्य विज्ञहरु टिचिङ अस्पतालका कोभिड संयोजक प्राध्यापक डा. सन्तकुमार दास, डा. रमेश ढकाल, डा. रविन्द्र पाण्डे, डा. प्रकाश घिमिरेले कोरोना रोकथामका लागि सरकार र नागरिकले अपनाउनु पर्ने सचेतताका बारेमा जानकारी गराएका छन्।

उनीहरुले सबै अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोरोनाको उपचारका लागि छुट्याउनु पर्ने सरकारको निर्णय त्रुटीपूर्ण भएको बताए। अरु बिरामीसँगै कोरोनाको उपचार गर्दा व्यापक मात्रामा संक्रमण फैलिने भएकाले त्यसलाई सच्याउन सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्