Logo

कोरोनाको संक्रमणबाट थप पाँचजनाको मृत्यु



कखरा संवाददाता


५ भदौ, काठमाडौं । नेपालमा कोभिड १९ को संक्रमण भएका थप पाँचजनाको मृत्यु भएको छ । ललितपुरमा दुईजना तथा पर्सा रुपन्देही र मोरङमा एक एकजनाको मृत्यु भएको हो ।

ललितपुरको पाटन अस्पतालमा उपचार गराइरहेका दुईजनाको शुक्रबार विहान मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ । अस्पतालमा उपचाररत दोलखाकी ३० वर्षीया महिला र सर्लाहीका ४६ बर्षीय पुरुषको मृत्यु भएको हो । दोलखाकी महिला भदौ २ गते अस्पताल भर्ना भएकी उनमा पाठेघर वरपर गम्भीर संक्रमणको समस्यापनि रहेको अस्पतालका निर्देशक डाक्टर रवि शाक्यले जानकारी दिए । यस्तै साउन ३१ गते अस्पताल भर्ना भएका सर्लाहीका ४६ बर्षीय पुरुषमा भने कोभिड १९ बाहेक कुनैपनि स्वास्थ्य समस्या नदेखिएको उनले बताए ।

यस्तै रुपन्देहीको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा प्युठानको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का ६४ वर्षीय पुरुषको आज विहान मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या भएपछि उनलाई चार दिनअघि अस्पताल लगिएको थियो । उनमा दम र उच्चरक्तचाप रहेको अस्पतालले जनाएको छ । यस्तै, पर्साको वीरगञ्ज महानगरपालिका १५ प्रतिमा चोकका ७१ वर्षीय पुरुषको हिजो बेलुकी मृत्यु भएको हो ।

उनी क्षयरोगका विरामी पनि रहेको अस्पतालले जनाएको छ । योसँगै, पर्सामा कोरोनाले मृत्यु हुनेको संख्या २५ पुगेको छ । यस्तै, कोरोना संक्रमण पुष्टि भएर होम आइसोलेशनमा बसेका मोरङको विराटनगर–६ का ४५ वर्षीय पुरुषको हिजो बेलुका ८ बजे घरमै मृत्यु भएको हो । लामो समयदेखि मधुमेह र उच्च रक्तचाप रहेका उनलाई भदौ ३ गते कोरोना संक्रमण पुष्टि भएको वडा अध्यक्ष विजय कामतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्