Logo

काठमाडौँ उपत्यकामा बुधबार रातिदेखि निषेधाज्ञा



कखरा संवाददाता


३ भदौ, काठमाडौं । कोरोना संक्रमण फैलिएर जटिल संकट हुन थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा लागु गरिँदैछ । बुधबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताका लागि काठमाडौं, भक्तपुर र ललितपुरमा निषेधाज्ञा लागु हुने भएको हो ।

तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीसहितको मंगलबार बसेको बैठकले आज राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । बैठकको निर्णयानुसार काठमाडौं जिल्ला प्रशासनले विभिन्न १७ बुँदे नियम जारी गर्दै निषेधाज्ञाका क्रममा घरबाहिर ननिस्किन भनेको छ । प्रशासनले सात दिन लामो निषेधाज्ञाका क्रममा औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर निस्किन नपाइने जनाएको छ ।

संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३) बमोजिम उक्त निषेधाज्ञा जारी गर्दै प्रशासनले अत्यावश्यक सेवा तथा वस्तु बाहेक सबै प्रकारका व्यापार व्यवसाय पनि बन्द गर्ने निर्णय लिएको छ । प्रशासनले जिल्लाभित्र जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालनमा पनि रोक लगाएको छ ।

सवारी साधनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अतिआवश्यकीय वस्तु वा सेवा अन्तर्गत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि सहभागी हुनुपर्ने काममा प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न पाइने छैन ।

प्रतिक्रिया दिनुहोस्