Logo

कोरोना महामारीका कारण अस्ट्रेलियामा नेपाली विद्यार्थीहरू संकटमा



कखरा संवाददाता


३ भदौ, सिड्नी । कोरोना महामारी शुरु हुनुभन्दा केही महिनाअघि मात्र ‘ब्याचलर अफ आइटी’ अध्ययन गर्न झापाबाट सिड्नी आएकी विनीता थापाले दिउँसोको काम नपाएपछि राती ‘क्लिनिङ’ को काम गर्नुपरेको बताउँछिन् ।

२० वर्षीय थापाले कोरोना महामारीले गर्दा जनतन काम पाइरहेकोमा खुशी भए पनि रातभरि काम गरेर आएपछि दिनभरि सुत्नुपर्ने बाध्यताले गर्दा धेरै असहज भएको गुनासो गर्छिन् ।

उनी भन्छिन्, ‘धन्न अहिलेसम्म मैले काम पाइरहेको छु । मेरै कलेजमा पढ्ने कतिपय साथीहरूको अवस्था निकै दयनीय छ । काम नपाएर उनीहरूको विजोग देख्दा म आफैलाई अहिलेसम्म भाग्यमानी ठानेको छु ।’

तर मेलबर्नस्थित ग्लेनरोयमा बस्दै आएका २२ वर्षीय अर्का नेपाली विद्यार्थी भने त्यति भाग्यमानी छैनन् । नाम उल्लेख नगर्ने शर्तमा उनले हाल हफ्ता जम्मा ५ घण्टा मात्र काम गर्न पाएको बताउँछन् । कोरोनाअघि राम्रोसँग काम गरिरहेको बताउने उनी अहिले आगामी सेमेष्टरको फिस कसरी तिर्ने भन्ने चिन्तामा व्याकुल देखिन्छन् ।

उनी भन्छन्, ‘केही समय अलिअलि जम्मा गरेको पैसाले चलाएँ तर अब स्थिति एकदमै दयनीय हुँदैछ । हफ्ताको ५ घण्टाको मात्र कामले कसरी जीवन धान्ने हो मलाई केही थाहा छैन । कोरोना कहर छिट्टै सकियोस् भन्ने कामना मैले गरिरहेको छु ।’

यी त केही प्रतिनिधि घटनाहरू मात्रै हुन् । अचेल सामाजिक सञ्जालका भित्ताहरूमा अस्ट्रेलियाका नेपाली विद्यार्थीहरू कोही खानाको लागि याचना गरिरहेका या कोही आर्थिक सहयोगको लागि लागि याचना गरेका पोष्टहरू देखिन थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्