Logo

टर्कीकी प्रथम महिलासँगको भेटपछि विवादमा आमिर



कखरा संवाददाता


३ भदौ, काठमाडौं । आफ्नो आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को सुटिङका लागि टर्की पुगेका बलिउड अभिनेता आमिर खान एक पटक फेरि विवादमा तानिएका छन् ।

चलचित्रको सुटिङअघि उनले टर्कीकी प्रथम महिला (टर्कीका राष्ट्रपति रेजेप ताइयिप एर्दोआनकी श्रीमती) अमीन एर्दोआनसँग भेट गरेका थिए । अगष्ट १५ मा भएको उक्त भेटको फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । सामाजिक सञ्जालमा कतिपयले आमिरलाई ‘राष्ट्रघाति’को संज्ञा दिएका छन् ।

आमिरसँगको भेटपछि अमीनले ट्वीटरमा लेखेकी छन्, ‘विश्व प्रशिद्ध भारतीय अभिनेता, फिल्ममेकर तथा निर्देशक आमिर खानसँग इस्तानबुलमा भेट्न पाउँदा खुसी लाग्यो । आमिरले आफ्नो आगामी चलचित्र ‘लाल सिंह चड्ढा’को सुटिङ टर्कीका विभिन्न स्थानमा गर्ने निर्णय गरेको थाहा पाउँदा मलाई खुसी लाग्यो ।’

टर्कीका राष्ट्रपति एर्दोआन पटक–पटक भारत विरोधि अभिव्यक्ति दिँदै आएका छन् । भारत सरकारले जम्मु–कश्मिरबाट संविधानको धारा ३७० हटाएपछि उनले त्यसको विरोध गरेका थिए । त्यसैले पनि एर्दोआनलाई भारतमा भारत विरोधिको रुपमा हेर्ने गरिएको छ ।

त्यसकारण अहिले आमिरले एर्दोआनकी श्रीमती अमीनसँग भेट्दा उनको विरोध गरिएको हो। पाकिस्तानको मित्र टर्कीकी प्रथम महिलासँग भेट गरेको भन्दै सामाजिक सञ्जालमा आमिरप्रति आक्रोश पोखिएको हो ।

आमिरको उक्त भेटलाई राजनीतिक रङ दिने पनि कोशिस भएको छ । भाजपा, राष्ट्रिय स्वयंसेवक संघ, विश्व हिन्दु परिषद जस्ता संगठनले आमिरको उक्त भेटको विरोध गरेका छन् भने कांग्रेस निकटहरुले आमिर स्वतन्त्र नागरिक भएको हुँदा आफूले चाहेका व्यक्तिसँग भेट्न सक्ने भन्दै समर्थन गरेका छन् ।

यतिबेला आमिर आफ्नो आगामी चलिचत्र ‘लाल सिंह चड्ढा’को सुटिङमा व्यस्त छन्। अद्वैत चन्दनको निर्देशन रहेको चलिचित्र सन् २०२१ को क्रिसमसमा रिलिज हुन सक्ने बताइएको छ ।

यसै वर्षको क्रिसमसमा रिलिज हुने भनिएको चलचित्र कोरोना भाइरसको महामारीका कारण पछि धकेलिएको हो ।

प्रतिक्रिया दिनुहोस्