Logo

‘सडक–२’को ट्रेलरमा साढे पाँच लाख ‘लाइक’, एक करोड ‘डिस्लाइक’



कखरा संवाददाता


३२ साउन, काठमाडौं । अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या प्रकरणपछि बलिउडमा विद्यमान नेपोटिज्मको विरुद्ध मानिसहरुले आक्रोश व्यक्त गरिरहेका छन्।

सामाजिक सञ्जालहरुमा लामो समयदेखि नेपोटिज्मलाई प्राथमिकता दिएको आरोप खेप्दै आएका निर्माता तथा निर्देशक करण जोहर, नायिका आलिया भट, अभिनेता सलमान खान, निर्माता तथा निर्देशक सञ्जय लिला भन्साली, निर्माता आदित्य चोपडा लगायत अन्य कैयौँ निर्माता, निर्देशक तथा कलाकारहरुको चर्को आलोचना भइरहेको छ।

करण, आलिया र सलमानलाई लाखौँ मानिसहरुले सामाजिक सञ्जालहरुमा अनफलोसमेत गरेका छन्। अभिनेत्री कंगना रनोटले त सुशान्तले आत्महत्या गरेको नभइ ‘प्लान मर्डर’ भएको आरोप लगाएकी थिइन्।

गत जुन १४ मा उनले मुम्बईस्थित आफ्नो फ्ल्याटमा आत्महत्या गरेका थिए। सुशान्तले आत्महत्या गरेको दुई महिना भइसकेको छ। तर मानिसहरुको आक्रोश भने अझै कम भएको छैन।

पछिल्लो समय आलिया भटको अभिनय रहेका र उनकै बुवा महेश भटले निर्देशन गरेको चलचित्र ‘सडक–२’को ट्रेलरमाथि त्यो आक्रोश पोखिएको छ। अगष्ट १२ मा यूट्युबमा सार्वजनिक भएको उक्त ट्रेलरले सबैभन्दा धेरै ‘डिस्लाइक’ भएको रेकर्ड कायम गरेको छ।

उक्त ट्रेलरमा युट्युबमा ५ लाख ५७ हजार ‘लाइक’ हुँदा १ करोडभन्दा बढी ‘डिस्लाइक’ छ। ९ लाखभन्दा बढी कमेन्ट छन्। सरसर्ती पढ्दा ट्रेलर राम्रो भएको प्रतिक्रिया भएको कमेन्ट देखिँदैन। धेरैजसोले आफू ‘डिस्लाइक’ गर्न मात्रै आएको भनेर लेखेका छन्।

उक्त ट्रेलरलाई भारतको सबैभन्दा धेरै डिस्लाइक पाउने ट्रेलर बनाउने सामाजिक सञ्जालहरुमा अभियान नै चलाइएको थिए। त्यो पूरा पनि भएको देखिन्छ।

महेश भटमाथि सुशान्तको आत्महत्याका लागि जिम्मेवार भएको आरोप सामाजिक सञ्जालमा लाग्दै आएको छ। उनले सुशान्तकी प्रेमिका भनिएकी रिया चक्रवर्तीलाई सहयोग गरेको र सुशान्तबाट टाढा बस्न दवाव दिएको बताइएको छ।

‘सडक–२’मा आलिकाका साथै महेश भटकी छोरी पूजा, सञ्जय दत्त, आदित्य रोय कपूर, जिशु सेनगुप्ता लगायतको अभिनय रहेको छ। चलिचत्र आगामी अगष्ट २८ मा अनलाइन रिलिज हुनेछ।

प्रतिक्रिया दिनुहोस्