Logo

काठमाडौंका तीन प्रशासन कार्यालयमा अत्यावश्यकबाहेकका सेवा बन्द



कखरा संवाददाता


२५ साउन, काठमाडौं । काठमाडौंसहित उपत्यकाका तीन जिल्लामा कोरोनाको संक्रमण तीव्र रुपमा बढ्दै गएपछि तीनवटै जिल्लाका प्रशासन कार्यालयले आजदेखि अत्यावश्यकबाहेकका सेवा बन्द गर्ने भएका छन् । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवाहरु आज(आइतबार)देखि भदौ ८ गतेसम्मका लागि बन्द गर्न लागिएको हो ।

नयाँ नागरिकता वितरण, नागरिकता प्रतिलिपि वितरण, हातहतियार दर्ता तथा नविकरण, संस्था दर्ता, पत्रपत्रिका दर्ता साथै नविकरण सम्बन्धी कार्य तथा निजी सुरक्षा कम्पनी नविकरणका कामहरु बन्द हुनेछन् । यस्तै राहदानी वितरण, नाबालिग परिचयपत्र वितरण तथा अन्य अत्यावश्यक नभएका कामहरु बन्द हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । यी बाहेक अत्यावश्यक सेवाका कामहरु भने सूचारु हुनेछन् ।

शान्ति सुरक्षा सम्बन्धी सेवा, ठाडो निवेदन र उजुरी सम्बन्धी, मुद्दा सम्बन्धी कार्य, अत्यावश्यक कामका लागि सवारी पाससम्बन्धी कार्य एवम् विपद् व्यवस्थापनसम्बन्धी कार्य भने सूचारु हुने छन् । यी सेवाहरु लिन र दिनका लागि पूर्णरुपमा स्वास्थ्यका मापदण्डहरु पालना गर्नुपर्ने जनाइएको छ ।

उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको शुक्रबारको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकाका ३ जिल्लामा अहिलेसम्म १ हजार ४४ जनालाई कोरोना संक्रमण भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्