Logo

इसुवाखोला आयोजना पीडितलाई हाइड्रोपावरले थप्यो ९ करोड



कखरा संवाददाता


२४ साउन,  सङ्खुवासभा । जिल्लाकाे मकालु गाउँपालिका–१ मा निर्माणाधीन इसुवाखोला हाइड्रोपावरले आयोजनापीडितलाई ९ करोड रुपैयाँ थप गरेको छ ।

हाइड्रोपावर कम्पनीले कीर्ते कागज बनाएर करोडौँ रकम अनियमितता गरेपछि स्थानीयवासी आन्दोलित भएका थिए । हाइड्रोपावरले कीर्ते कागज बनाएर ठगी गरेकोमा स्थानीयवासीले आपत्ति जनाएका थिए ।

मकालु गाउँपालिका–१ मा निर्माण गरिरहेको केबीएनआर इसुवा हाइड्रोपावर लिमिटेडले स्थानीयवासीलाई प्रतिरोपनी ३ लाख रुपैयाँका दरले मुआब्जा थप गर्ने भएको वडाध्यक्ष वाङ्दीछिरिङ शेर्पाले जानकारी दिए ।

आयोजनाको नाम बेचेर जग्गाको अधिकतम प्रतिरोपनी २ लाख मुआब्जा दिएर ८ देखि १० लाख मूल्य निर्धारण गरेको भेटिएपछि स्थानीयवासीले विरोध जनाएका थिए ।

आयोजनाले स्थानीयवासीलाई पाखोबारीको प्रतिरोपनी १ लाख ५० हजार रुपैयाँ र बारीको प्रतिरोपनी २ लाख रुपैयाँ मुआब्जा दिएको थियो ।

इसुवा हाइड्रोपावर कम्पनी, स्थानीयवासी र मकालु–१ का वडाध्यक्ष शेर्पासहित बसेको बैठकले प्रतिरोपनी ३ लाख रकम थप गर्ने सहमति भएको हो ।

गत १३  पुसमा भएको सहमतिबाट प्रतिरोपनी ३ लाख थप गर्ने सहमति भएको वडाध्यक्ष शेर्पाको भनाइ छ ।

कम्पनीले स्थानीयवासीका जग्गा प्रतिआना १ लाखमा खरिद गरेको तर नक्कली कागजात बनाएर ३७ लाख रुपैयाँसम्ममा खरिद गरेको देखाएर कम्पनीका नाममा करोडौँको मूल्याङ्कन गरेको प्रमाण भेटिएको थियो ।

प्रतिरोपनी थप गरेको ३ लाखबाहेक बैठकले परियोजनाका लागि सडक निर्माण गर्दा प्रयोग हुने अन्य जग्गाबापत प्रतिरोपनी १ लाख थप गर्ने र यसअघि खरिद गरेको जग्गाको रकममा कट्टा गरेको ५ प्रतिशत रकमसमेत फिर्ता गर्ने सहमति भएको पीडित कुसाङदोर्ची शेर्पाले बताए ।

आयोजनाले पीडितलाई बैंक खातामार्फत रकम भुक्तानी दिइने सहमतिमा उल्लेख छ । हाइड्रोपावर आयोजनाले करिब २ सय ५२ रोपनी जग्गा खरिद गरेको थियो ।

मकालु–१ मा ९७.२ मेघावाट क्षमताको विद्युत् उत्पादन गर्न इसुवाखोला हाइड्रोपावर केभीएनआर विराटनगर र बिग वर्ल्ड हाइड्रोपावरले निर्माण गरिरहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्