Logo

नुवाकोटमा आवागमनमा रोक, सार्वजनिक सेवा प्रवाहमा कटौती



कखरा संवाददाता


२३ साउन, नुवाकोट । नुवाकोटका सबै स्थानीय तहमा कोरोना सङ्क्रमणको जोखिम देखिएसँगै ‘लकडाउन’ सरहको आवागमनमा रोक र सार्वजनिक सेवा प्रवाहमा कटौती गरिएको छ ।

सङ्कट व्यवस्थापन केन्द्रको हिजो बसेको बैठकले जिल्लाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक यातायातका साधन आजदेखि अर्को निर्णय नहुँदासम्म सञ्चालनमा रोक लगाउने, अत्यावश्यक सेवाका साधन र अनुमतिप्राप्त साधनबाहेक अन्य सवारीसाधन जिल्ला प्रवेशमा पूर्णरुपमा रोक लगाइने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, नुवाकोटको भवन । तस्वीर – प्रशासन कार्यालयको फेसबुकबाट

यसैगरी राति ८ बजेदेखि बिहान ६ बजेसम्म एम्बुलेन्सबाहेक अरु सबै किसिमका सवारी साधन जिल्लामा प्रवेश गर्न नदिने पनि निर्णय गरिएको केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी झङ्कनाथ ढकालले जानकारी दिए । उनका अनुसार अर्को निर्णय नहुँदासम्म बेलकोटगढी नगरपालिका–५ स्थित कोल्पुखोला पुलबाट दुईपिपलतर्फ जाने सडकबाट आवतजावतमा रोक लगाउने, क्वारेन्टिन तोकिएका होटलबाहेक अन्य सबै प्रकारका चिया पसल, होटल, लज तथा रेष्टुरेन्ट बन्द गरिने, धार्मिकस्थलमा सामूहिक भेला हुन नदिने, सामूहिक भएर मनाइने मेला, जात्रा, पर्व तथा समारोह सञ्चालन गर्न नपाउने निर्णय बैठकले गरेको छ ।

यसैगरी यही साउन २५ गतेदेखि अर्को आदेश नभएसम्म जिल्लाभित्रका सबै सरकारी, निजी तथा गैरसरकारी कार्यालयले प्रदान गर्ने सेवामध्ये सेवा सञ्चालन तथा व्यवस्थापन प्रक्रिया र कार्यालय सञ्चालन, व्यवस्थापन र सेवा प्रवाहका मापदण्डअनुरुप अतिआवश्यक सेवा मात्र प्रदान गर्ने निर्णय गरिएको प्रजिअ ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्