
११ साउन, काठमाडौं । इन्टर मिलान इटालियन सिरी ए फुटबलको दोस्रो स्थानमा पुगेको छ ।
लिग अन्तर्गत शनिबार राति भएको खेलमा जेनोआलाई ३–० ले पराजित गरी दोस्रो स्थानमा पुगेको इन्टर मिलान शीर्ष स्थानको युभेन्टसभन्दा चार अंकले पछि रहेको छ ।
अवे मैदानमा भएको खेलमा इन्टर मिलानलाई जिताउन रामेलु लुकाकु र एलेक्स सान्चेजले गोल गरे। ३४ औँ मिनेटमा लुकाकुले गोल गरेर इन्टर मिलानलाई सुरुवाति अग्रता दिलाए । ८२ औँ मिनेटमा सान्चेजले गोल गरेपछि अग्रता दोब्बर भयो ।
इन्जुरी समयको तेस्रो अर्थात ९३ औँ मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर मिलान ३–० ले विजयी भएको हो । जितपछि दोस्रो स्थानको इन्टर मिलानको ३६ खेलबाट ७६ अंक भएको छ ।
युभेन्टसको समान खेलबाट ८० अंक छ । तेस्रो स्थानमा झरेको एट्लान्टाको ७५ अंक रहेको छ । पराजित भएको जेनोआ रेलिगेशन जोनबाट माथि १७ औँ स्थानमा छ ।
लिग अन्तर्गत शनिबार राति भएका अरु खेलमा पार्माले ब्रेसियालाई २–१ तथा नापोलीले सासुओलोलाई २–० ले पराजित गरेका छन् ।