
११ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वमहामन्त्री सुनिल थापासहित पार्टी प्रवक्ता किरण गिरी, केन्द्रीय सदस्यहरु दिलीप राई, आशाराम चौधरी, चतुरमान विश्वकर्मासहित ३१ जनाले पार्टी परित्याग गरेका छन् । उनीहरु नेपाली कांग्रेसमा प्रवेश गर्ने बुझिएको छ ।
पूर्वमहामन्त्री थापासहित ३१ जना नेताहरुले एकसाथ पार्टीको सबै जिम्मेवारीबाट अलग भएको घोषणा गर्दै अध्यक्षत्रयलाई शनिबार राजीनामापत्र बुझाएका हुन् ।राप्रपाको सिद्धान्त र दृष्टिकोण स्वार्थ र परिस्थिति अनुकूल परिवर्तन भइरहँदा विश्वास समाप्त भएको थापासहितका नेताहरुले उल्लेख गरेका छन् ।
राजीनामा दिनेमा उच्चस्तरीय कार्य सम्पादन समितिका सदस्यहरू थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, पदमबहादुर बस्नेत र केही केन्द्रीय सदस्यहरू छन् ।
एकतापछिको सचिवालयको कार्य व्यवस्था समितिसहित विभिन्न निकायको गठनमा समावेशीतालाई बेवास्ता गरिएको तथा पार्टीको सबैभन्दा महत्वपूर्ण समितिमा महिला, मधेशी, थारु र दलितको प्रतिनिधित्व हुन नसकेको थापालगायतका नेताले बुझाएको राजीनामापत्रमा उल्लेख छ।