
१० साउन, काठमाडौं । फेसबुक र इन्स्टाग्रामबाट शुरु भएको थियो, अभिनेता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको बिवाद । ‘ड्रिम्स’ फिल्ममा जुस खान नपाएको र छाता ओड्न नपाएको कुराबाट शुरु भएको बिवाद इन्स्टाग्राम, फेसबुक हुँदै अदालत पुगेको छ ।
निर्देशक भूवनले अदालतमा इज्जतमा दाग लागेको भन्दै साम्राज्ञीविरुद्ध मुद्दा हालेका छन् । उनले, बिहीबार मुद्दा हालेपछि अब यो बिवादमा अदालतले फैसला गर्नेछ ।
कलाकार संघलाई न्याय पाउँ भनेर दिएको मुद्दा अदालतसम्म पुग्नु सुखद कुरा होइन । हरेक नागरिकले आफूलाई अन्याय भएपछि अदालतमा पुगेर न्याय खोज्न पाउँछ । भूवन केसीले पनि यही सोचेर न्याय खोज्न अदालत पुगेका होलान् ।
तर, एकजना निर्देशक र आफैँले निर्देशन गरेको फिल्मबाट जन्माएकी अभिनेत्रीको आरोपमा अदालतसम्म पुग्नु हुन्थ्यो त ?
भूवन केसी र साम्राज्ञी राज्यलक्ष्मीको विषयमा उनीहरुका वरिपरीमा मानिसहरु पनि बढी चलखेल गरे । कलाकार संघले पनि न्याय दिन सकेन । कलाकार संघले दुबै जनालाई राखेर निर्णय गरेको भए पनि यो मुद्दा अदालत पुग्ने थिएन । तर, यसमा कलाकार संघ चुकेको छ ।
भूवन केसीले अदालतमा मुद्दा दर्ता गर्दा इज्जतमा दाग लगाएको, मानहानी गरेको भनेर उजुरी दिएका छन् । साम्राज्ञीले बोलेका कुनै कुनै शब्दले आफ्नो करिअरमा दाग लागेको भनेर भूवनले उजुरी दिएका छन् ।
अभिनेता भूवन केसी र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको विवाद अदालतसम्म पुग्नुपर्ने थिएन, तर पुगेको छ । निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलको मुद्दा अदालतमा चलिरहेको छ । लक डाउनले फिल्मीकर्मीलाई कहाँ कहाँसम्म लैजाने हो खोई ?