
१० साउन, काठमाडौं । लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा प्रकाशनको विषयलाई लिएर सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र आरोप प्रत्यारोपको श्रृंखला फेरि चर्केको छ । नयाँ नक्सा प्रकाशनको जस लिने विषयमा होडबाजी चलेपछि नेताहरुबीच आरोप प्रत्यारोप चलेको हो ।
शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ नक्सा प्रकाशनको विषय पार्टीको भएको तर अहिले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोजेकोमा आपत्ति जनाएका थिए ।
उनले आफैले अध्यक्षता गरेको पार्टीको बैठकबाट नेपालको सम्पूर्ण भूभाग समेटिएको नयाँ नक्सा जारी गर्नुपर्छ भन्ने निर्णय भएको र सो निर्णय लागु गराउन सरकारलाई पार्टीले निर्देशन दिएको बताएका थिए । पार्टीको निर्णय लागु गराउन सरकारले सुरुमा आनाकानी गरेको र पछि सचिवालय बैठकमा आफूसहितका नेताले दबाब दिएपछि मात्रै प्रधानमन्त्री ओली त्यसमा सहमत भएको प्रचण्डले बताएका थिए ।
‘नयाँ नक्सा तत्कालै प्रकाशन गरिहाल्नुपर्छ भनेर निर्णय गराउनेहरु राष्ट्रघाति दलाल हुने अनि नक्सा त एकछिनमै प्रिन्ट भैहाल्छ नि अहिले त भूमि फिर्ता लिने विषय ठूलो हो भन्ने चाहीँ महान राष्ट्रवादी भन्ने ढंगले प्रचार गरिनु उचित होइन’, प्रचण्डले भनेका थिए, ‘ नयाँ नक्सा प्रकाशनको यो निर्णय पार्टीको हो, पार्टीको निर्णय लागु गराएकोमा हामीले प्रधानमन्त्रीलाई धन्यवाद पनि दिएकै हो ।’
प्रचण्डले नयाँ नक्सा प्रकाशनको निर्णय पार्टीको भएकोले प्रधानमन्त्री ओलीले मात्रै जस लिन खोज्न नहुने बताएपछि नेकपाका नेता शंकर पोखरलेले उनको तिखो आलोचना गरेका छन् । प्रदेश नम्बर ५ का मुख्यमन्त्री समेत रहेका पोखरेलले आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा थाहा नपाउनेले अहिले आफूले नक्सा प्रकाशन गरेको हो भन्न नमिल्ने आशय व्यक्त गरेका छन् । पोखरेलले फेसबुकमा लेखेका छन् ‘कालापानी क्षेत्रको सीमा विवाद पुरानै हो। आफू प्रधानमन्त्री हुँदा नक्साको कुरा था नपाउनेले अहिले उहाँले होइन मैले हो भन्न कसरी सकेको ?’
यसअघि नेकपाका उपाध्यक्ष बामदेव गौतमले पनि सचिवायल बैठकमा नयाँ नक्सा प्रकाशनको निर्णय आफ्नो दबाबमा भएकोले कसैलाई देवत्वकरण गर्न आवश्यक नरहेको भन्दै वक्तव्य जारी गरेका थिए ।