
१० साउन, काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपालले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको एक स्वरमा आलोचना गरेका छन्।
दुवै नेताले ओलीको कार्यशैलीको खुलेर विरोध जनाउँदै बहुमतको निर्णय मान्नु पर्ने बताएका हुन्। शुक्रबार पुष्पलाल स्मृति प्रतिष्ठानले नेकपाका संस्थापक नेता नरबहादुर कर्माचार्यको सातौं स्मृति दिवसमा आयोजना गरेको कार्यक्रममा दाहाल–नेपालले बहुमतको निर्णय मान्दै ओलीले राजीनामा दिनुपर्ने आशय व्यक्त गरेका हुन्।
दाहाल नेपाल पक्षका बहुमत स्थायी समिति सदस्यले ओलीलाई प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पद छाड्न गरेको आग्रहलाई अस्वीकार गर्दै आएका छन्। पार्टीको पछिल्लो शक्ति संघर्षमा एकै ठाउँ उभिँदै आएका दुई नेताले शुक्रबार पनि घुमाउरो ढंगले राजीनामा दिन माग गरे।
ओली पार्टीको निर्णय विपरीत स्वेछाचारी ढंगले अघि बढेको र त्यो अब धेरै नटिक्ने उनीहरुको भनाइ थियो। दाहालले पार्टीमा संस्थागत निर्णय नै सर्वोपरी हुनुपर्ने उल्लेख गर्दै कुनै नेताको हैकमले नचल्ने उल्लेख गरे।
दाहालले पार्टीले सरकार चलाउनु पर्नेमा सरकारले पार्टी चलाएको आरोप लगाए। पार्टी र सरकार सञ्चालनको दुई वर्षको अवधिमा संस्थागत निर्णय कमजोर बन्न पुगेको उनको विश्लेषण थियो।
प्रचण्डले भने, ‘पार्टी भनेको विवेक हो, सरकार भनेको सत्ता हो। विवेकले सत्तालाई नियन्त्रण गर्नुपर्छ। पार्टीले सरकार चलाउनु पर्छ। सत्ताले पार्टीमाथि हैकम जमाउने अवस्था रह्यो। दुई वर्षको अवधिमा सत्ताले पार्टी चलाउने अवस्था सिर्जना भयो। समूहको अधिनस्त व्यक्ति हुनपर्ने ठाउँमा व्यक्तिको अधिनस्त समूह भए जस्तो तपाईंले अनुभूत गर्नुभएको होला।’
वरिष्ठ नेता नेपालले पनि पार्टीभित्र बहुमत स्थायी समिति सदस्यले प्रधानमन्त्रीबाट ओलीलाई राजीनामा दिन माग गरेको प्रसंगतर्फ संकेत गर्दै नेपालले भने, ‘पार्टीमा बहुमतको निर्णय नै सर्वोपरी हुन्छ भनेर हामीले स्वीकार गरेका छौं। बहुमतको निर्णय मान्दिन भनेर भन्ने कसैले भन्न पाउँदैन।’
उनले आफू नै सर्वेसर्वा हुँ भन्ने अहम अझै जारी राखे पतन निश्चित भएको चेतावनी दिए। ‘विधिबाट पार्टी चल्यो भने सबै प्रक्रियामा जान्छ। म नै राज्य हुँ भन्ने ठानियो भने, आफूबाहेक अरु केही होइन भन्ने ठानियो भने त्यस्तो अवस्थामा व्यक्ति र प्रवृत्तिको पतन बाहेक अर्को केही पनि हुँदैन’, नेपालले अगाडि भने, ‘त्यस्तो विचार प्रवृत्तिमा हामी चुर्लुम्म डुबेका छौं भने त्यसबाट उम्किउँ, बेलैमा सचेत हौं। तर समय ढिलो हुन लागि सकेको छ।’
दाहाल नेपाल दुवैले जनता समक्ष गरेको प्रतिवद्धता अनुसार सरकारले काम नगरेकाले समीक्षा हुनुपर्ने बताए।
प्रचण्डले भने, ‘साझा उम्मेदर र साझा घोषणापत्र लिएर जाँदै गर्दै समृद्धि दिन्छौं, सुशासन दिन्छौं, भ्रष्टाचार मुक्त समाज बनाउँछौं भन्ने प्रतिबद्धता जनाएका थियौं। त्यसलाई हामीले यहाँसम्म आइपुग्दा कति कायम गर्न सक्यौ, कति सकेनौं समीक्षा हुन आवश्यक छ।’ जारी स्थायी समिति बैठकबाट सरकारको कामको समीक्षा गर्न चाहेको दाहालले बताए।
‘अहिले हामीले पार्टीमा यहीँ प्रश्नको जवाफ खोज्ने जमर्को गरिरहेका छौं। कम्युनिष्ट पार्टी भनेको सामूहिकतामा चल्ने र व्यक्तिगत जिम्मेवारी लिएर हिड्ने अवस्था हो। २ वर्षसम्म केन्द्रीय समितिको बैठक गर्न सकेनौं। त्यहाँ चुम्यौं’, प्रचण्डले अगाडि भने, ‘समस्या आउँदा सामूहिक हिसाबले छलफल गर्ने र निस्केको निचोडको पालना गर्ने गर्यौँ कि गरेनौं भन्दा गरेनौं। बैठक नै नबसेपछि सामूहिक छलफल हुने कुरै भएन।’
कार्यक्रममा नेपालले जनताको समस्या समाधानका लागि पार्टीका निकायहरु सक्रिय भएका छन् कि छैनन् भनेर समीक्षा हुन आवश्यक रहेको उल्लेख गरे। ‘हामी समीक्षा छलफलबाट भागिरहेका त छैनौंरु आफूले जे सोचेको छ त्यहीँ मात्र सही हो भनेर अरुमा थोपरिरहेका त छैनौंरु’, नेपालले प्रश्न गरे।
दाहालले एमाले ब्यूँत्याउन ओलीको सक्रियता रहेको आरोप लगाए। पार्टी एकतामा देखिएको संकट नटरेको उल्लेख गर्दै उनले भने, ‘अर्का अध्यक्षको सहयोग र सक्रियतामै एमाले ब्यूँत्याउने काम भएको छ। यसले राम्रो सन्देश दिएको छैन।’
नक्सा जारी गर्न पार्टी निर्णय कार्यान्वयन गर्न ढिलाइ गर्नेले नै अरुलाई बदनाम गर्न खोजेको भन्दै प्रचण्डले असन्तुष्टि जनाए।
उनले भने, ‘जसले पार्टीको निर्णय मान्न यति ढिलो गर्यो उसको चाहिँ देवत्वकरण। जसले नक्सा सार्वजनिक गर्नुपर्छ भने ऊ चाहिँ राष्ट्रघाती दलाल यो चाहिँ हुन सक्दैन।’ ओलीको चर्को आलोचना गरे लगत्तै दाहाल ओलीलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।
नेता नेपालले नेकपा विभाजन हुन नसक्ने तर कोही चोइटिएर जान सक्ने भन्दै ओलीतर्फ संकेत गरे। ‘कसैले फुटाउन खोज्यो भने चोइटिएर जाला तर कम्युनिष्ट पार्टी फुट्नेवाला छैन’, उनले भने ।