
८ साउन, काठमाडौं । नेकपाका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री माधवकुमार नेपालले पार्टीभित्रको वाद–विवादबाट आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताएका छन्।
काठमाठौँ महानगरपालिका वडा–१८ मा निर्माण भएको पुष्पलाल स्मृति पार्कको उद्घाटन गर्दै नेपालले पार्टीमा देखिएको विवाद समाधान हुने विश्वास व्यक्त गरेका हुन्।
‘बाहिर फैलिएको हल्लाको आधारमा होइन हामी मिहिन ढंगले वाद–विवाद, सम्वाद गरिरहेका र्छौँ,’ नेपालले भने, ‘वादेवादे जायते तत्ववोध’ भने जस्तै वाद, विवाद, सम्वाद हुने वित्तिकै आत्तिहाल्नु पर्ने केही छैन। विधिबाट सबै टुंगो लगाउनुपर्छ। हामी त्यहि प्रयासमा छौँ।’ को नेता छ भन्ने होइन कस्तो पार्टी बनाउने भन्ने कुराको आधारमा चल्नुपर्नेमा पनि उनले जोड दिए।
‘नेताहरुको बिचमा विश्वास र समझदारीको समन्वय भयो भने अनि विधिको आधारमा टेकेर चल्ने अवस्था भयो भने जस्तो सुकै चुनौतिको सामना गर्न सकिन्छ, उनले अगाडि भने, ‘एकताबद्ध भएर अघि बढ्न सकिन्छ । हामी सबै त्यहि दिशामा अघि बढौँ । पुष्पलाको योगदानलाई चीरस्थाई बनाई राख्न पनि हामीले पार्टी एकतालाई बलियो बनाउने कुरालाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ।’
पार्टीको विवादले शुभ चिन्तक चिन्ति र शत्रु खुशी भएको उनको दाबी छ। ‘यो विवादको चर्चाले हाम्रा सुभचिन्तकहरु धेरै चिन्तित भएका छन् । बैरीहरु धेरै खुशी भएका छन्। पार्टी विधि र पद्धतिबाट चल्छ, पार्टी तौर–तरिकाबाट चल्छ । असल व्यवहार र आचरणबाट चल्छ।’
नेता नेपालले कसैले जानि–जानि कमजोरी गर्छ भने त्यसको सजाए पार्टीले होइन व्यक्तिले पाउनुपर्ने बताए। ‘व्यक्तिले गरेको गल्तीमा पार्टीले सजाय भोग्ने हो भने पार्टी चिप्लिन्छ,’ उनले भन्नुभयो,
‘पहिलो पुस्ता, दोस्रो पुस्ता, तेस्रो पुस्ताले गरेको त्याग, तपस्या, बलिदान, विचार र संगठनमा गरेको मेहनतको आधारमा यो पार्टीको संरचना खडा भएको हो। एक जनाको पौरखबाट होइन हामी सबैको पौरखबाट यो निर्माण भएको छ भन्ने सन्देश हामी सबैले दिइरहेका छौँ । यहि सन्देशका आधारमा हामी अघि बढ्नुको अर्को विकल्प छैन।’
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पनि सबै नेताहरुलाई एकताबद्ध भएको सन्देश दिएर आम कार्यकर्ता र नेपाली जनताको मन जित्न सुझाव दिए।
प्रदेश सांसद बसन्त मानन्धरले नेकपाको विकल्प नेकपा नै भएको भन्दै नेता प्रधान नभइ नीति प्रधान हुनुपर्नेमा जोड दिए।