
४ साउन, एजेन्सी । भनिन्छ, कुकुरले मानिसको इसारा बुझ्न सक्छ । हालै गरिएको एउटा अध्ययनबाट बिरालोले पनि आफ्नो नाम र अन्य उस्तै शब्द, आवाजलाई छुट्याउन सक्ने तथ्य फेला परेको छ ।
वैज्ञानिकहरूले पहिले नै कुकुरले कसरी मानिसका व्यवहार र बोलीको प्रतिक्रिया दिन्छ भन्ने विषयमा अध्ययन गरेका थिए । अनुसन्धानकर्ताले मानिस र बिरालोको अन्तरसम्बन्ध पनि खोजी गरेका छन् । घरपालुवा बिरालोले मानिसको अनुहारको अभिव्यक्ति हेरेर प्रतिक्रिया दिएको देख्न पाइन्छ । बिरालोले फरक–फरक आवाज बीचको भिन्नता छुट्याउन सक्छ । तर, के बिरालोले आफ्नै नाम चिन्न सक्छ त रु
‘मलाई लाग्छ, धेरैजसो बिरालो पाल्ने मानिसले बिरालोले आफ्नो र खानेकुराको नाम चिन्छ भन्ने सोच्छन्,’ मनोवैज्ञानिक अटसुको साइतोले भनिन् । तर बिरालो मन पराउने व्यक्तिलाई समर्थन गर्ने कुनै वैज्ञानिक प्रमाण भने छैन । साइतोले सोफिया विश्वविद्यालय, टोकियोमा दिमागको अध्ययन गर्छिन् । उनले पनि ओकारा नामको बिरालो पालेकी छन् ।
उनले र उनका साथीहरू मिलेर ७७ जना बिरालो मालिकलाई आफ्नो बिरालोको नाम जस्तै र समान अक्षर भएका चार वटा अन्य नाम उच्चारण गर्न लगाए । बिरालोहरूले खासै चासो देखाएनन् । तर, जब मालिकले बिरालोकै नाम उच्चारण गरे, तिनीहरूले तत्कालै प्रतिक्रिया दिए । तिनीहरूले कान, टाउको, पुच्छर हल्लाउने तथा हत्केला सार्ने काम गरे ।
समूहमा वा एक्लै रहेका बिरालोहरूले पनि एउटै प्रतिक्रिया दिए । क्याफेहरूमा पालिएका बिरालाहरूले समेत तिनीहरूको नाम बोलाउँदा प्रतिक्रिया दिएको पाइयो । ती बिरालोसँग ग्राहक खेल्छन् । मस्ती गर्छन् । त्यो अवस्थामा ग्राहकले तिनीहरूलाई नामले बोलाउँदा अन्य शब्दले बोलाएको भन्दा बढी प्रतिक्रिया दिए । वैज्ञानिकहरूले अप्रिल ४ को वैज्ञानिक रिपोर्टमा आफ्नो खोज प्रकाशन गरेका थिए । एउटा नतिजाले तिनीहरूलाई अचम्ममा पारिदियो ।
क्याट क्याफेमा पालिएको बिरालोले आफ्नो नामको साथसाथै आफ्ना आसपासका बिरालोहरूको नाममा पनि प्रतिक्रिया दिएको पाइयो । तर घरमा बस्ने बिरालाहरूले भने अरुको नाममा खासै प्रतिक्रिया दिएनन् । क्याफेमा भएका बिरालाहरूको आफ्नो मालिकसँग खासै गहिरो सम्बन्ध नहुने तथा धेरै बिरालो हुने भएकाले नाममा कन्फ्युज भएको हुन सक्ने अनुमान लगाइएको छ । क्याफेमा बस्ने बिरालोले अन्य बिरालोलाई बोलाएको पनि सुनिराखेको हुन्छ जसले गर्दा उसलाई आफ्नो नाम कुन हो भन्ने थाहा पाउन कठिन हुन्छ ।
यो अध्ययनले बिरालो पनि कुकुर, डल्फिन, एप्स (गोरिल्ला, चिम्पान्जी) र सुगा जस्तै मानिसको हाउभाउलाइ चिन्न र त्यसको प्रतिक्रिया दिन सक्ने देखाएको छ ।