
४ साउन, काठमाडौं । नेकपाभित्रको शक्ति संघर्ष साम्य पार्न केही महिनादेखि हुँदै आएको कसरतले अहिलेसम्म कुनै सकारात्मक नतिजा निकाल्न नसके पनि शनिबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल एकसाथ राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतलनिवासमा डेढ घन्टाभन्दा बढी भेटेर फर्केका छन् ।
प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहाल एकसाथ राष्ट्रपतिलाई भेट्न जाने संयोग कहिलेकाहिँमात्र हुने गर्छ, जब नेकपाभित्रको गुत्थी सुल्झिने दिशातर्फ अघि बढ्छ ।लगातारको स्थायी समिति बैठकको स्थगनपछि शनिबार सचिवालय बैठक डाकिएको थियो । बैठकलगत्तै अध्यक्षद्वय राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवासतर्फ हुइँकिएका थिए ।
शनिबारको सचिवालय बैठक चार घन्टा चलेको भए पनि मुख्यतयास् मंसिरमा महाधिवेशन गर्ने अध्यक्ष ओलीको प्रस्तावमा केन्द्रित भयो । ईश्वर पोखरेल र बिष्णु पौडेलले मंसिरमा महाधिवेशन गर्न सकिने दाबी प्रस्तुत गरेका थिए भने झलनाथ खनाल तथा वामदेव गौतमलगायतले भने कोरोना महामारी तथा अन्य परिस्थितिका कारण मंसिरमा महाधिवेशन सम्भव नहुने जिकिर गरेका थिए ।
यद्यपि नेकपाका शीर्ष नेताहरुबीच ओलीले विवाद साम्य पार्न महाधिवेशनको क्षेप्यास्त्र हानेको चर्चा चलेको थियो ।
पौने दुई घन्टा राष्ट्रपतिसँग दुई अध्यक्षहरुको के विषयमा छलफल भयो भन्नेबारे विस्तृत जानकारी प्राप्त नभए पनि नेकपाको विवाद जसरी भए पनि सहमतिमै अघि बढाउनेबारे शीतलनिवासमा परामर्श भएको बुझिएको छ । यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने सहमतिमै अघि बढ्ने सहमति ओली र दाहाल पक्षबीच भएको जानकारी सचिवालय बैठकपछि गराएका थिए।
शनिबारको सचिवालय बैठकमा नेता माधव नेपालले मंसिरमै महाधिवेशन गर्ने भए पनि नयाँ प्रस्ताव लिएर आउन अध्यक्ष ओलीलाई सुझाएको स्रोतले जानकारी दिएको छ ।
आइतबारका लागि तय भएको स्थायी समितिको बैठक स्थगन गर्न अध्यक्ष ओलीले गरेको प्रस्ताव भने दाहाल र नेपाल पक्षले स्वीकार गरेन । यद्यपि आइतबारका लागि तय भएको स्थायी समितिमा आफूप्रति प्रहार हुनसक्ने बोलीका गोलीहरुबाट बच्न ओलीले अन्तिम समयसम्म पनि बैठक रोक्न प्रयास गर्ने एक नेकपा नेताले दाबी गरेका छन् ।