
२ साउन, काठमाडौं । नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सुरु भएको विवाद सचिवालय, स्थायी समिति हुँदै अब केन्द्रीय कमिटीमा पुग्ने भएको छ।
सरकार र पार्टी सञ्चालमा ओलीको कार्यशैलीबाट सुरु भएको नेकपा विवाद अहिले स्थायी समितिमा अल्झेको छ। स्थायी समिति बैठक रोकेर नेताहरु असार १८ गतेदेखि लगातार छलफलमा जुटे पनि विवाद मिल्नुको साटो झन झन् गहिरिँदै गएको छ।
बिहीबार अध्यक्षद्धय ओली, दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालबीच बालुवटारमा भएको छलफल विना निष्कर्ष टुंगिएपछि नेकपाको विवाद नयाँ मोडमा पुगेको हो।
बिहीबारको छलफलमा पनि दाहाल र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे पनि उनले यसअघि झै अस्वीकार गर्दै बहुमतबाट निर्णय लिन चुनौती दिए। असार १८ गते यता ओली दाहालबीच विवाद समाधनका लागि भन्दै सातपटक छलफल भए पनि विवाद जहाँको त्यहीँ छ।
स्रोतका अनुसार ओलीले आफूले दुवै पदबाट राजीनामा नदिने र दाहाल नेपालललाई बहुमतका आधारमा आफूलाई हटाउने निर्णय गर्न धम्क्याएका थिए। दुई पक्ष आआफ्नो अडानमा स्थिर पनि नेताहरुले शुक्रबार९भोलि० बोलाएको स्थायी समिति बैठक नरोक्ने भएका छन्।
स्रोतका अनुसार ओली दाहाल र नेपालीबीच भएको छलफलमा शुक्रबार स्थायी समिति बैठकलाई निरन्तरता दिने र विवादबारे छिट्टै केन्द्रीय कमिटी बैठक बोलाएर छलफल गर्ने सहमति गरेका छन्।
शुक्रबारदेखि पूर्व निर्धारित एजेण्डामै छलफल हुने एक स्थायी समिति सदस्यले जानकारी दिए। एक दुई दिनमा स्थायी समिति बैठक सकेर भदौ पहिलो हप्तामा केन्द्रीय कमिटी बैठक बोलाउन नेताहरु तयार भएका हुन्।
सचिवालय र स्थायी समितिले समाधान गर्न नसकेको विवाद केन्द्रीय समितिमा लैजाँदा नेकपाभित्र थप संकट आउने देखिएको छ।
बिहीबार बालुवाटारको बैठक निष्कर्षविहीन भएपछि ओली र दाहाल–नेपाल दुवै पक्षले गुट भेला गरेर भावी रणनीतिबारे छलफल गरेका छन्। दाहाल नेपाल पक्षले प्रचण्ड निवास खुमलटारमा भेला भएको थियो भने ओलीले निकट नेताहरुलाई बालुवाटारमै बोलाएका थिए।
खुमलटारमा बहुमतबाट निर्णय गरेर जाँदा उपन्न हुने परिस्थितिबारे छलफल भएको एक नेताले जानकारी दिए। ओलीले पार्टी विभाजन गर्न तयारी गरिरहेको अवस्थामा तत्कालै बहुमतका आधारमा जानुभन्दा पनि विवादलाई केन्द्रीय कमिटीमा लगेर अझ विस्तृत छलफल गर्नुपर्ने निष्कर्षमा दाहाल नेपाल पक्ष पुगेको छ।
पार्टीको विवाद केन्द्रीय कमिटीमै छलफल हुनेपर्ने भन्दै नेता ठाकुर गैरेको नेतृत्वमा बैठक बोलाउन हस्ताक्षर अभियान पनि चलिरहेको छ । एक चौथाइ सदस्यले हस्ताक्षर गरेर बैठक माग गरे बोलाउनुपर्ने नेकपा विधानको व्यवस्था छ।
उता बालुवाटारमा भएको भेलामा ओली पक्षका नेताहरुले दुवै पदबाट राजीनामा नदिने अडानलाई यथावत राख्दै बहुमतबाट हुने निर्णयको प्रतिवाद गर्ने निष्कर्ष निकालेको सहभागी एक नेताले जानकारी दिए।
नेकपा स्थायी समिति ४५ सदस्यीय छ भने केन्द्रीय कमिटीमा ४४१ जना छन्।