
१ साउन, काठमाडौं । गत आर्थिक वर्षको आय-व्ययमा सरकारले संशोधित लक्ष्य करिब पूरा गरेको छ । गत आर्थिक वर्षको लागि १५ खर्ब ३२ अर्ब रुपैयाँको बजेट ल्याएका अर्थमन्त्री डा. युवराज खतिवडाले आय-व्ययको अनुमान तेस्रो पटक संशोधन गर्दै करिब १० खर्ब ७३ अर्ब रुपैयाँको बजेट खर्च हुने अनुमान गरेका थिए ।
खतिवडाले अन्तिमपट चालू आर्थिक वर्षको बजेट पेस गर्ने क्रममा १५ जेठमा कोभिड-१९ को कारण खर्च र आय दुबैमा चाप परेको भन्दै संशोधित लक्ष्य सुनाएका थिए । गत आर्थिक वर्षको खाता क्लोज हुँदा समग्र खर्च ७१.३९ र समग्र आय ७३.१३ प्रतिशत गरेको छ ।
संशोधित लक्ष्यको तुलनामा पनि पुँजीगत गर्च र वित्तीय व्यवस्थापन खर्च पूरा हुन सकेको छैन । तर, चालू खर्च संशाेधपत लक्ष्ययकाे तुलनमा १० प्रतिशत बढी अर्थात विनियाेजन गरिएकाे बजेटकाे ८२ प्रतिशत भएको महालेखाको नियन्त्रकको कार्यालयले जनाएको छ ।
गत आर्थिक वर्षको लागि सरकारले चालू खर्च ९ खर्ब ५७ अर्ब रुपैयाँ विनियोजन गरेकोमा अन्तिम संशोधित अनुमान ७ खर्ब राखिएको थियो । तर, ७ खर्ब ८६ अर्ब बढीको चालू खर्च भएको छ ।
त्यस्तै, ४ खर्ब ८ अर्बको पुँजीगत खर्चमा अन्तिम संशोधित अनुमान २ खर्ब ८ अर्ब राखिएको थियो ।तर, १ खर्ब ९१ अर्ब रुपैयाँ मात्रै खर्च भएको छ । वित्तीय व्यवस्थापनतर्फ १ खर्ब ६७ अर्बको बजेटमा १ खर्ब ६० अर्ब रुपैयाँ खर्च भएको छ ।
आयतर्फ भने संशोधित अनुमानको तुलनामा समग्र लक्ष्य पूरा भए पनि आन्तरिक ऋण बाहेकका लक्ष्य भने पूरा भएका छैनन् ।
संशोधित लक्ष्य अनुसार आन्तरिक ऋण १ खर्ब ९३ अर्ब उठ्ने अनुमान गरेकोमा बजेटमै राखिएको लक्ष्य अनुसार १ खर्ब ९५ अर्ब रुपैयाँको आन्तरिक ऋण उठेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
वैदेशिक ऋण र साहयता लक्ष्यको ५० प्रतिशत पनि उठ्न सकेको छैन । वैदेशिक ऋण र सहयता गरी १ खर्ब उठेको छ । जसमा बजेटमा ५७ अर्ब वैदेशिक अनुदानको लक्ष्य राखिएकोमा संशोधित अनुमान ३३ अर्ब थियो । वास्तविक अनुदान भने १८ अर्ब ४२ करोड रुपैयाँ मात्रै आएको छ ।
११ खर्ब १२ अर्ब रुपैयाँको राजस्व उठाउने लक्ष्य निर्धारण गरेको सरकारले संशोधित अनुमानअनुसार ८ खर्ब २७ अर्बको लक्ष्य थियो । तर, ७ खर्ब ९३ अर्ब रुपैयाँ अपरिस्कृत तथ्यांकले देखाएको छ ।
अर्थ मन्त्रालयले असारको लागि राखेको लक्ष्यभन्दा बढी राजस्व उठाए पनि जेठमा भने लक्ष्यको ५० प्रतिशत पनि प्राप्त गर्न सकेको थिएन । तर, असार मात्रै १ खर्ब ६० अर्ब बराबरको राजस्व उठाएको छ । यो असारमा उठेको राजस्वको हालसम्मकै बढी हो गत वर्षको भन्दा करिब दोब्बर देखिएको छ ।
महालेखा नियन्त्रक गोपिनाथ मैनालीले चैतदेखि रोकिँदै आएको राजस्व दाखिला भएकोले बढी देखिएको बताए ।
असार महिनाभर १ खर्बको राजस्व उठ्ने अर्थमन्त्रालयको प्रक्षेपण रहेको थियो । तर, आयमा अधिकांश लक्ष्य अपुग देखिए पनि सरकारले विभिन्न कोष तथा निकायमा रहेको पैसा तानेर आय-व्यको सन्तुलन कायम गरेको देखिएको छ ।
४७ अर्ब ५७ करोड ५५ लाख रुपैयाँ बराबरको अन्य प्राप्त देखिएको छ । मंगलबार २५ अर्ब रुपैयाँको भुक्तानी गरेको सरकारले बुधबार भने जम्मा १३ अर्ब ६० करोड रुपैयाँको भुक्तानी गरिएको छ ।
महालेखा स्रोतअनुसार बुधबारको लागि २२ अर्ब बढीको भुक्तानी दायित्व भएपनि अर्को आर्थिक वर्षलाई सारिएको हो ।
२९ साउनसम्म ती चेक काटिने गरी व्यवस्था गरिएको छ । गत आर्थिक वर्षमा सरकारको समग्र खर्च १० खर्ब ९४ अर्ब ३४ करोड १६ लाख रुपैयाँ पुगेको छ ।