
१ साउन, काठमाडौं । अर्बपती व्यापारी एलन मस्क, जेफ बजोस र बिल गेट्ससमेत संसारका थुप्रै ठूला व्यापारी र नेताको ट्वीटर अकाउन्ट ह्याक भएको छ । यो ह्याकिङ बिटकोइन स्क्याम हो । ह्याक गरिएको अकाउन्टमा गरिएको पोस्टमा बिटकोइनमा चन्दा मागिएको छ ।
बिल गेट्सको अकाउन्टबाट गरिएको ट्वीटमा भनिएको छ, ‘सबैले मलाई समाजका लागि केही गर्न भनिरहेका छन्, अब त्यो समय आएको छ । तपाईं मलाई एक हजार डलर पठाउनुहोस्, म तपाईंलाई दुई हजार डलर फिर्ता पठाउनेछु ।’
टेस्लाका प्रमुख एलन मस्कको अकाउन्टमा गरिएको पोस्टमा भनिएको छ, ‘अबको एक घण्टाभित्र बिटकोइनमा पठाएको पैसा दोब्बर भएर फिर्ता हुनेछ ।’ बिटकोइनको अकाउन्टमा लिंकसहित ट्वीटमा लेखिएको छ, ‘म कोभिड–१९ महामारीका कारण दान गरिरहेको छु ।’
पोस्ट गरिएको केही मिनेट भित्र नै यो ट्वीट डिलिट भयो । अमेरिकाका चर्चित र्यापर कान्ये वेस्ट, पूर्व राष्ट्रपति बराक ओबामा र डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेद्वार जो बाइडेन बाहेक संसारका ठूलो कम्पनीमा संलग्न उबर र एप्पल अकाउन्ट पनि ह्याक भएको छ ।
केही बेरमा ह्याकरलाई सयौं मानिसहरुले एक लाख डलरभन्दा बढी पठाए । जुन अकाउन्टलाई निशाना बनाइयो त्यसमा दशौं हजार फलोअर्स छन् । ट्वीटरले आफूले यो घटनाको अनुसन्धान गरिरहेको र चाँडै नै बयान जारी गरिने जानकारी दिएको छ ।
अर्को एउटा ट्वीटमा घटनाबारे अनुसन्धान चलिरहेका बेला पासवर्ड रिसेट गर्न नसकिने र केही पनि ट्वीट गर्न नसकिने बताइएको छ । केही प्रयोगकर्ताले आफूले ट्वीट गर्न नपाएको बताएका छन् ।