३१ असार, काठमाडौं । निजी विद्यालयहरुको दुईवटा संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (एनप्याब्सन)ले साउन १ गते(भोलि)देखि वैकल्पिक शिक्षण सिकाइ क्रियाकपाल बन्द गर्ने भएको छ ।
दुई संगठनले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिमा सरकारसँग भद्रसहमति भएकाे १ साता वितिसक्दा पनि कुनै ठोस निकास नआएको र थप अन्योल बढ्दै गएको भन्दै वैकल्पिक शिक्षण सिकाइ क्रियाकपाल स्थगित गर्नुपरेको उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘मन्त्रालयको तर्फबाट कुनै ठोस निकास नआएको र थप अन्योल बढ्दै गएको परिस्थितिमा थप गतिविधिहरु सञ्चालन गर्न हामीलाई आर्थिक तथा व्यवसायिक संकट आइपरेकोले कार्यालय बन्द गरी बस्नै उचित विकल्प हो भन्ने हामीलाई महसुस भएको छ ।’
प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा थप लेखिएको छ, ‘२०७७ साउन १ गतेलेखि सबै वैकल्पिक शिक्षण सिकाइका क्रियाकलापहरु स्थगन गरि आफ्ना शिक्षक–कर्मचारीहरुलाई बेतलबी घरबिदा दिने अप्रिय निर्णय गर्न बाध्य भएका छौँ ।’ अब शिक्षा मन्त्रालयबाट भौतिक रुपमा विद्यालय सञ्चालनको अनुमति दिएपश्चात मात्र विद्यालयको प्रशासन खुल्ला हुने प्याब्सनका अध्यक्ष पुरीले जानकारी दिए । पुरीका अनुसार शिक्षक र कर्मचारीहरुको तलब पनि विद्यायल सञ्चालन भएर आम्दानी गर्न शुरु भएपछि मात्र उपलब्ध गराउनेछ ।