३१ असार, सिमकोट । नाम्खा गाउँपालिकाको वडा नम्बर ६ ले हिमालपारीको गाउँ लिमीमा तीन हजार पाँच सय मिटर अग्लो स्थानमा वडा कार्यालय भवन बनाएर सञ्चालनमा ल्याएको छ ।
अधिकांस वडा र गाउँपालिकाहरु भाडाका घरमा बस्दै आएको बेला लिमीमा भने बार्षिक बजेट व्यवस्था गरेर वडा कार्यालयको भवन बनाइएको हो ।
वडा कार्यालय स्थापनाको समयमा भाडाको घरमा बस्दै आएको वडा कार्यालयले आफ्नै भवन पाएको नाम्खा गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष पाल्जोर तामाङले बताए ।
उक्त वडा कार्यालय भवन तीन हजार पाँच सय मिटर अग्लो स्थानमा निर्माण गरी सञ्चालनमा आएको हो। गाउँपालिका र वडाको आफ्नै बजेटबाट भवनको निर्माण गरिएको हो ।
गत वर्ष भवन मात्र बनेको भएपनि यस वर्ष कम्पाउण्ड लगाउने र घेरवार गर्ने कार्य सम्पन्न भएको उनले बताए। वडाका लागि आवश्यक पर्ने सबै संरचना भवनमा निर्माण गरिएका छन् ।
बजेट अभावले अघिल्लो वर्ष पूरा हुन नसकेको भवनको संरचना स्थानीय बासिन्दाहरु मिलेर निर्माण गरेका हुन् ।