३१ असार, काठमाडौं । अजोड इन्स्योरेन्सको आइपीओ भर्नेहरुको अन्तिम तथ्यांक आएको छ । यसमा कुल १ अर्ब ८१ करोड ६३ लाख ९९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
५ लाख २ हजार २९८ जनाले १ करोड ८१ लाख ६३ हजार ९९० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागको तुलनामा ६।६५ गुणा बढी हो । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार यो अन्तिम तथ्यांक हो । तर कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गरेपछि भने सामान्य परिवर्तन हुन भने सक्नेछ ।
२ लाख ७३ हजार आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने
अजोडको आइपीओमा कुल आवेदकको संख्या ५ लाख २ हजार २९८ जनना रहेको बिक्री प्रबन्धकले जनाएको छ । यसआधारमा अहिलेको मोटामोटी तथ्यांक अनुसार २ लाख ७३ हजार जना आवेदकले १० कित्ताका दरले सेयर हात पार्ने देखिएको छ । २ लाख २९ हजार जना भने आइपीओ पाउनबाट बञ्चित हुनेछन् । बिक्री प्रबन्धकका अनुसार कतिपय आवेदनमा त्रुटी भेटिएकाले भेरिफाई गर्दा सेयर पाउनेको संख्या सामान्य बढ्न भने सक्नेछ ।
अजोडले असार २५ गतेबाट ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो । जसमध्ये ४५ अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५५ अर्थात १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषलाई दिइएको छ । बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणको लागि बिक्री खुला गरीएको हो ।
अजोडको आइपीओलाई केयर रेटिङ नेपालले औषत भन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको थियो । हाल अजोडको अधिकृत पुँजी १ अर्ब र चुक्ता पुँजी ७० करोड रुपैयाँ रहेको छ । आइपीओ बाँडफाँटपछि चुक्ता पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।