बाइस करोडभन्दा बढीको आलु उत्पादन

३० असार, काठमाडौं । मकवानपुरको थाहा नगरपालिका क्षेत्रका कृषकले खेतबारीमा लगाएको आलु बिक्री गर्ने अन्तिम चरणमा छन् ।

स्थानीय कृषकले यो वर्ष २२ करोड रुपियाँभन्दा बढीको आलु उत्पादन गरेका छन् । गत वर्षभन्दा आलु उत्पादनमा गिरावट आएको बताउँदै थाहा नगरपालिकाको कृषि विकास शाखाका शाखा अधिकृत सञ्जय तिवारी यो वर्ष २२ करोड ५० रुपियाँभन्दा बढीको आलु उत्पादन भएको जानकारी दिए ।

आलु फल्ने समयमा अधिक वर्षा भएर आलु उत्पादनमा ह्रास आएको भन्दै उनले भने, ‘बढी पानी पर्दा खाद्यान्न, तरकारीलगायतका सबै बालीमा नोक्सानी भएको छ । आलु उत्पादनमा ह्रास आए पनि गत वर्षभन्दा कृषकले आलुमा यो वर्ष राम्रो मूल्य पाएका छन् । गत वर्ष प्रतिहेक्टर २० टन आलु उत्पादन भएकोमा यो वर्ष थाहा नगरमा प्रतिहेक्टर १५ टन मात्र आलु उत्पादन भएको अनुमान छ । यो वर्ष नौ हजार टन आलु उत्पादन भएको अनुमान छ, तिवारीले भने ।

कृषकले गत वर्ष आलु प्रतिकेजी १८ देखि ३० रुपियाँसम्ममा बिक्री गरेकोमा यो वर्ष सुरुमा प्रतिकेजी १८ रुपियाँमा बिक्री भएकोमा पछि सेतो आलु प्रतिकेजी ४० रुपियाँ र रातो आलु प्रतिकेजी ४४ रुपियाँसम्ममा बिक्री गरेका छन् । दामन, पालुङ र वज्रवाराही क्षेत्रको आलु उत्पादन भई बिक्री अन्तिम चरणमा पुगेको र आग्रा क्षेत्रको आलु निस्कँदा अहिलेको मूल्यलाई हेर्दा प्रतिकेजी ५० रुपियाँ बारीमा नै पर्ने आकलन गरिएको उनले बताए ।

गत माघ–फागुनमा खेतबारीमा लगाएको आलु असारको पहिलो सतासम्म निकाल्न स्थानीय कृषक व्यस्त रहेका थिए । थाहा नगरपालिकाको दामन, पालुङ, आग्रा, वज्रवाराही, चित्लाङलगायतका स्थानको अधिकांश क्षेत्रमा स्थानीयले आलु खेती गर्दै आएका छन् ।

थाहा नगरपालिकाका कृषि विकास शाखाका शाखा अधिकृत तिवारीले आलु खनेर मकै र तरकारी लगाइएको जानकारी दिए । यो वर्ष अधिकांशले आलु लगाएको खेतबारीमा मकै र केहीले तरकारी लगाएका छन् । उनले भने, ‘बन्दाबन्दीका कारण स्थानीयले उत्पादन गरेको तरकारी बिक्री नभएको उचित मूल्य नपाउने समस्याका कारण यो पटक अधिकांशले मकै खेती गरेका हुन् ।’

गत वर्ष पनि आलुमा फल लाग्ने समयमा अधिक वर्ष भएका कारण डढुवा लागेर बोट मर्दा आलु उत्पादनमा २०–२५ प्रतिशतले ह्रास आएको थियो । थाहा नगरपालिकाको करिब छ सय हेक्टर क्षेत्रफलमा आलु खेती गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित समाचार

ताजा समाचार