
२२ मंसिर, काठमाडौं । चितवनको राप्ती नगरपालिका वडा नम्बर ४ मा हिजो साँझ अटो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते छन् ।
चेपाङमार्ग भएर चौकी डाँडातर्फ आउँदै गरेको ना १ ह ६४०९ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा ५ जनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ । घटनामा परी पर्वतको कुस्मा नगरपालिका पिपलटारी बस्ने श्यामप्रसाद तिवारीसहित ५ जनाको मृत्यु भएको छ ।
यता, सल्यान छत्रेश्वरी गाउँपालिकाको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्जबाट सल्यान आउँदै गरेको एम्बुलेन्स लाई ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो । दुर्घटनामा परि एम्बुलेन्स चालक छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ दहगाउँका २८ वर्षीय चित्रबहादुर सुनार र एक नवजात शिशुको घटनास्थलमै ज्यान गएको छ ।