१९ मंसिर, काठमाडौं । नेपाल टेलिकमले ग्राहकको रुचीलाई ध्यानमा राखी भ्वाइस तथा डाटा सेवा सस्तो मूल्यमा उपहारस्वरुप प्रदान गर्न सकिने सुविधा ल्याएको छ । यस अन्तर्गत निश्चित दिनका लागि भ्वाइस वा डाटा सेवा साथीभाई वा आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ ।
यो सेवा उपयोग गर्नका लागि सर्वप्रथम नेपाल टेलिकमको ‘Nepal Telecom’ एप आफ्नो मोबाइलमा डाउनलोड गर्नुपर्दछ । एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले प्ले स्टोरमा र आइफोन प्रयोगकर्ताले एप स्टोरमा गई नेपाल टेलिकमको लोगो अंकित एप डाउनलोड गर्न सकिन्छ । डाउनलोड गरेपछि ‘रजिष्टर’मा क्लिक गर्नुपर्दछ ।
एपमा मागिएबमोजिम प्रयोगकर्ताको नाम, मोबाइल नम्बर, पासवर्ड लगायत विवरण राखेपछि लग इन हुन्छ । यसपश्चात मोबाइलमा तत्कालै सन्देशका रुपमा एक पटकका लागि कोड नम्बर आउँछ । सो कोड नम्बर इन्ट्री गरी कम्पनीको एप प्रयोग गर्न सकिन्छ ।
यही एपमार्फत तपाईं आफन्त वा साथिभाईलाई कुराकानी गर्ने वा इन्टरनेट चलाउने समय उपहारका रुपमा प्रदान गर्न सकिनेछ । इन्टरनेट चलाउने डाटा सेवा उपहारस्वरुप दिन चाहेमा भने एप खोली गिफ्ट प्याकेज्समा क्लिक गर्नुपर्दछ ।
त्यसपछि डाटा लेखिएको एपमा गएर जम्मा १२ रुपैयाँमा २४ घण्टासम्म २८ एमबी डाटा चलाउन सकिने, रु.३० मा ३ दिन चलाउन मिल्ने ९० एमबी, रु.६० मा ७ दिनको १९० एमबी र रु.१०० को ५०० एमबी तथा रु.२४० को २८ दिन चलाउन सकिने १५०० एमबी डाटा गिफ्ट गर्न सकिन्छ ।
कति एमबीको डाटा उपहार दिइने हो निश्चित गरेपछि क्लिक टु सब्सक्राइब लेखिएको स्थानमा क्लिक गरी दिन चाहेको मोबाइल नम्बर लेखी ओके गर्नुपर्दछ । प्रिपेड तथा पोस्टपेड मोबाइलका प्रयोगकर्ताले यो सुविधा उपभोग गन सकिनेछ ।
यसैगरी यही एपको गिफ्ट प्याकेज्समा गई भ्वाइस क्लिक गरी रु।२५ रुपैयाँको ४० मिनेट कुरा गर्न सकिने एकदिने प्याकेज उपहार दिन सकिन्छ । सात दिनसम्म १९० मिनेट कुरा गर्न सकिने प्याकेज उपहार दिने हो भने जम्मा रु.१ सय मात्र लाग्दछ । जम्मा रु.२४० मा २८ दिनसम्म ४९० मिनेट कुरा गर्न सकिने प्याकेज पनि उपहार प्रदान गर्न सकिने छ ।
साथै रु. ५ सयमा ४२ दिनसम्म प्रयोग गर्न सकिने ११ सय मिनेट गिफ्ट गर्न पनि सकिन्छ। यसैगरी http://offer.ntc.net.np/ मा गएर पनि आफूले चाहे बमोजिमका प्याकेजहरु साथीभाई र आफन्तलाई उपहारका रुपमा प्रदान गर्न सकिन्छ। यस योजनामा जसले गिफ्ट दिने हो उनकै मोबाइल व्यालेन्सबाट रकम कटिन्छ।