१९ मंसिर, धनगढी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तारुढ दल नेकपाले बेइमानी गरेको बताएका छन् । उनले यहि १४ गते सम्पन्न उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाबीच चुनावी तालमेल गरिएको तर नेकपाले त्यसको पालना नगरेको बताए ।
‘उपनिर्वाचनका क्रमममा नेकपासँग तालमेल गरि बाग्लुङ र प्युठानमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई सघाउने र अन्य ठाउँमा नेकपाका उम्मेदवारलाई सघाउने सहमति भएको र त्यही अनुसार राष्ट्रिय जनमोर्चाले उम्मेदवारी दिएको थियो’ बुधबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष केसीले भने–‘नेकपाले बाग्लुङमा कार्यान्वयन गरेपनि प्युठानमा बेईमानी गर्यो ।’
नेकपाले प्युठानमा स्वतन्त्र उम्मेदवार उठाएर आफ्नो पार्टीका उम्मेदवारलाई हराई स्वतन्त्रलाई जिताएको अध्यक्ष केसीले बताए । उनले भने–‘पार्टीका अध्यक्षसँग भएको सहमति पालना हुँदैन भने त्यो कस्तो पार्टी, अध्यक्षको भनेको नमान्ने कस्ता कार्यकर्ता ?’ अध्यक्ष केसीले भने–‘एउटै माघले जाडो सकिँदैन, यसरी बेइमानी गरेपछि अबको दुई वर्षपछि पुनः चुनाव आउँछ नेकपाले त्यो बुझोस् ।’
अध्यक्ष केसीले कालापानीमा देखिएको सीमा विवादका बारेमा सरकारले दृढतापूर्वक अभियान चलाउन नसकेको बताए । उनले भने–‘सर्वदलीय बैठकमा एकमतका साथ सीमाका पक्षमा दृढतापूर्वक उभिने र सरकारले कुटनीतिक पहल गर्ने सहमति भएको हो, तर अहिले सम्म खासै पहल गरेको छैन ।’
नेपालका दलहरु सत्ता बचाउने खेलमा मात्र केन्द्रित देखिएकाले सीमा समस्या समाधान गर्न नसकेको उनको आरोप छ । अध्यक्ष केसीले भने–‘यसपटक सरकारले कुटनीतिक तवरबाट भारतसँग सीमा विवाद समाधान गर्छ भने ठिकै छ, नत्र अन्तरराष्ट्रियकरण गर्नुपर्छ ।’ उनले थपे –‘अरुको जग्गा पनि एक इन्च चाहिदैन, हाम्रो जग्गा पनि एक इन्च छोड्नु हुँदैन ।’
जनमोर्चाको वर्षौँदेखिको नारा नै ‘भारतीय सेना कालापानी छोड’ रहेको उल्लेख गर्दै अध्यक्ष केसीले यसपटक पनि जनमोर्चाले तयसको विरोधमा धनगढी देखि दार्चुला सम्म मोटरसाइकल ¥याली गरेको बताए । उनले भने–‘अहिले दुई तिहाईको सरकारको मुख्य चुनौती नै भारतले हडपेको कालापानी लगायतको नेपाली भूभाग फिर्ता गर्नु रहेको छ, यदि यो गर्न सकेन भने यो सरकारको खोक्रो राष्ट्रवाद पनि प्रष्ट हुन्छ ।’